कतै अल्झिरहेको
एकथान जीवन
निस्कने अभिलाषामा
गरिरहन्छ अनेक प्रयत्न !

सुसेल्छ निश्वास
पुकारिरहन्छ आर्तनाद
सुनाइरहन्छ क्रन्दन
आफैँसँग
साँच्चै अरु के हुन्छ ?
उपाय विहीनताबाट
निस्कनु जति ठूलो सपना !

कर्मका पाइलाहरू
बिना गन्तव्य दौडिरहन्छन्
भौँतारिरहन्छन्
प्रयासका धुमिल रेखाहरू
कोरिँदै मेटिँदै
मेटिँदै अनि फेरि कोरिँदै
बिना आकार टुङ्गिन्छन्

प्राप्तिका सपनाहरू
अन्योल सडकमा घुमिरहन्छन्
गोरेटाहरूमा अल्झिरहन्छन्
विवशताका धारहरूमा बेरिएर
जिम्मेवारीको जालोमा अलमलिइरहन्छन्

कर्मको डोरी बिछ्याई
आफ्नै चाहनाले अल्झिन्छ
आफू आफैँमा निरन्तर
दौडिरहन्छ भेटाउन गन्तव्य
लगातार कुदिरहन्छ दिन घामसँग
झनै लम्बिरहन्छ दुरी स्वयसँग
टाढिन्छ समीप आफ्नै छायाँसँग निरन्तर

पाउमा चहर्याइरहन्छ पसिनाको दुर्गन्ध
फूटेर पोलिरहन्छन् फोक्काहरू
बिझाइरहन्छन् खस्रा डामहरू
अतितका वक्ररेखाहरूसँग
थाकेको बाटोमा, आधा सपना बोकेर
घुमिरहन्छ समय

देखिँदैन कुनै आकार जीवनको
अस्थिर मनोभाव बोकेर
बाटो ओगटिरहन्छन् पाइलाहरू
बदलिरहन्छ संकल्पको मसी
फिक्का रङ पूर्ण इन्द्रेणी बन्ने आसमा
भौँतारिरहन्छ बारम्बार
बदलिरहन्छ सपना
फिँजाइरहन्छ संकल्प बर्षातको घाममा

आधा उज्यालोले
बादल बाहिरबाट
जून कुरिरहन्छ
पूर्ण हुने अभिलाषामा
कपासको पहाड बोकेर
गरुङ्गो ओजनको भ्रम छरिरहेछ जीवन
सपनाको खातमा उभिएर
सपनाकै हत्या गरिरहेछ निरन्तर

झल्किन्छ अनुहारमा
बनावटी मनोभाव
छेउकुना नमिलेको आधा हाँसो
कस्तो रुवाईजस्तो हाँसो !
आँसुले खडा गरेको पर्खालबाट
चुहिएर आएको एक थोपा हाँसो
लाग्दैन हाँसोजस्तो
तर बुझाइरहेछ जगत !
थामिरहेछ जीवन !

जति जतनले टाले पनि
पुरिन्नन् अभावका खाडलहरू
सङ्घर्षका पाइलाहरू भीरबाट कराइरहन्छन्
अन्धकारमा छ समथर
अँध्यारोमै पोखिन्छन् सपनाहरू
अँध्यारोमै हराउँछ गन्तव्य
म खोजिरहन्छु गन्तव्य सपनाको ।