साधुवाद अदृष्य समयलाई
धन्यवाद अविछिन्न समयलाई

अहिले मसँगै छैनन् उनीहरू
अर्थात मेरो सामुन्ने छैनन्
जो हिजो हरेकपल मसँगै टाँसिएका हुन्थे
अन्तरङ्गमा मसँगै रमाइरहेका हुन्थे
मलाई प्रयोग गरिरहेका हुन्थे
टेकेर मेरै ढाडमा
टाउकोमा मुक्का बर्साइरहेका हुन्थे
रिस साँधिरहेका देखिन्थे
हरपल असन्तुष्टि जनाइरहेका हुन्थे
बहस र प्रतिकार गरिरहेका हुन्थे

देखेर स्वच्छन्द विचार
सुनेर स्पष्ट तिखो आवाज
कडा मिजास र ओजिलो भाषाशैली
सिकायत गरिरहेका हुन्थे
सकारात्मक प्रगति र उन्नतिमा
ईर्ष्या र डाहा गर्नेहरू
आरिस र आहा गरिरहेका हुन्थे

लामो समयको रस्साकस्सीपछि
अनायासै जुरेको समयको उल्झन
मैले वर्षौं कुरेको समयको बन्धन
आज यो मोडमा आइपुगेको छ

मसँग पैठेजोरी खेल्नेहरू
मसँग अनायासै पाखुरा ठेल्नेहरू
आज एकाएक टाढिएका छन्
दुरी कायम भएको छ उनीहरूसँग
चिन्ने अवसर पाएको छु राम्रोसँग
अदृष्य समयले सित्तैमा फत्ते गरिदिएको छ
त्यो गहनतम् कार्य

म आज धेरै खुशी छु
हो, म आज धेरै खुशी छु
केही समयका लागि छुट्टिने अवसर पाएको छु
साँच्चै भनौँ ? एक प्रकारको छुटकारा पाएको छु
केहीबेर अलग हुने एउटा स्वच्छन्द समय भेट्टाएको छु
क्षणिक समयको अलौकिक र स्वर्णिम आनन्द पाएको छु
टक्क अड्याएर जिन्दगीको रथलाई
जस्केलाबाट चियाएको छु

अन्तर मनको गहिराईबाट सलाम छ
यो अबिरल समयलाई
धन्यवाद छ
यो अमूल्य समयलाई

साधुवाद अदृष्य समयलाई ।
साधुवाद अदृष्य समयलाई ।।

सिर्जनशील साहित्यिक समाज (सिसास). भैरहवा. रुपन्देही
(पूर्व अध्यक्ष एवम् सल्लाहकार)
(हाल : वीरगंज)