मेरो र मबीच
संसारकै गहिरो नाता
संसारकै विशाल शत्रुता
संसारकै धेरै फरक
संसारकै जटिल निर्भरता
विभेद र विवाद
एकता र विभाजन
को ठूलो, को सानो ?
को प्रमुख, को गौण ?
म र मेरो शरीर

०००

कहिल्यै नमिल्ने
कुकुर र बिरालो
मन र शरीर

एकाबिहानै
शरीरले भन्छ– उठ्
शुचि हो
पानी खा
योगाभ्यास गर्
मर्निङवाक जा
मनले भन्छ– एकछिन सुत्
मोबाइल हेर्/गेम खेल् ।
ओछ्यानमै आओस् चिया

एकाबिहानै
मनले भन्छ–
चाँडो उठ्
उठेर काम थालिहाल् ।
शरीरले भन्छ–
आराम गर्
एकैछिन त सुत्न दे ।

बिजुलीको प्लस–माइनस तारजस्तो
चुम्बकको उत्तर–दक्षिण बारजस्तो
नदीको दुई विपरीत धारजस्तो
मन र शरीर ।

शरीर बिरामी हुन्छ कि मन ?
शरीर स्वस्थ छ, मनमा डिप्रेसन छ ।
मन स्वस्थ छ, शरीरमा प्रेसर छ ।
शरीरमा कुलत छ, मनमा अध्यात्म छ ।
शरीर सशक्त छ, मन विषाक्त छ ।
शरीरमा भोग छ, मनमा रोग छ ।

००००

म दर्शनशास्त्रमा खोज्छु
मन र शरीरको सम्बन्ध ।

शरीर नश्वर / आत्मा अमर …..
यो काया, अपवित्रता, बासना
मासुको थुप्रो
माया, भोग र रोगको बास
आफ्नै शरीरलाई बेस्सरी गाली गर्न मन लाग्छ
योगी, सन्यासीले झैं ।
यो शरीर, एकमाघको जाडो छेक्ने धरो
आत्माको अस्थायी टहरो
एकाएक म मनवादी बन्छु
आध्यात्मवादी बन्छु ।

हैट !
शरीरविनाको मन हुन्छ ?
मनभित्र विज्ञान जागृत हुन्छ
शरीरविज्ञान जागृत हुन्छ
शरीरविना कहाँ रहन्छ मन ?
शरीरविना कहाँ अडिन्छ जीवन ?
मलाई शरीरको माया लाग्छ
आफ्नै शरीर सुम्सुम्याउँछु
मन सफा राख्न शरीर सफा राख्नुपर्छ
मनको मन्दिर हो शरीर
एकाएक म शरीरवादी बन्छु
भौतिकवादी बन्छु

शरीरविना मन हुँदैन
मनविना शरीर हुँदैन
तर, यो द्वन्द्व किन ?
रात–दिनको किचलो
तँ ठूलो कि म ठूलो
तँ हाकिम कि म हाकिम…
किन ?
दुई दलजस्तो झगडा किन ?
दुई देशजस्तो लडाइँ किन ?

अब म माक्र्सवादी बन्न पुग्छु –
संसारका हरेक चिजमा द्वन्द्व छ
मनभित्रै द्वन्द्व
मन र शरीरमा द्वन्द्व
जहाँ अस्थित्व छ, त्यहाँ द्वन्द्व
विपरीतहरु एकै ठाउँमा बस्छन्
एकै ठाउँमा बसेपछि द्वन्द्व हुन्छ
द्वन्द्वले शत्रुलाई निषेध गर्छ
निषेधले नयाँ चिज जन्माउँछ

निषेधले नयाँ चिज जन्माउँछ ?
मलाई कार्ल मार्क्ससँग भाउन्न रिस उठेर आउँछ
मन र शरीरको द्वन्द्वले कसलाई निषेध गर्छ ?
एकको निषेधपछि मान्छे जन्मन्छ वा मर्छ ?
मलाई मार्क्सदेखि रिस उठ्छ

अब म ताओवादी बन्छु
हरेक चिजमा विपरीत हुन्छन्
द्वन्द्व हुँदैन, मिलन हुन्छ
लडाइँ हुँदैन, सम्मिलन हुन्छ
अशान्ति हुँदैन, शान्ति हुन्छ
म एकाएक ताओवादी बन्न पुग्छु

स्त्री–पुरुष
दिन–रात
घाम–जून
आकाश–धर्ती
जमीन–समुद्र
बहादुरी–करुणा
आँसु–हाँसो
आगो–पानी
सुख–दुःख
मन र शरीर
सबै विपरीत, तर एक
विपरीत एकैठाउँमा बस्छन्
एकैठाउँमा भएपछि मिलन हुन्छ
मेरो मन र शरीर
एकैठाउँमा छन्
मिलेर बसेका छन्
म मन र शरीर दुबै हुँ
ओहो !
म त भावनामा बहकिएँछु
शरीरलाई धर्तीमै छाडेर मेरो मन आकाशमा उडेछ

०००

मान्छेहरु
शरीरलाई हेरेर विभेद गर्छन्–
त्यो कालो
त्यो होचो
त्यो ख्याउटे
अनुहार हेर्दै नराम्रो
त्यो अपाङ्ग
गरीब
थाङ्ने
दाह्री–कपाल नकाटेको
मेकअप नगरेको
केटी भए पनि केटाजस्तो
मान्छेहरु मान्छेको शरीरलाई हेरेर विभेद गर्छन्
मान्छेहरु
मनलाई हेरेर विभेद गर्छन्–
त्यो हिन्दु
त्यो मुस्लिम
त्यो इसाई
त्यो कम्युनिष्ट
त्यो पुँजीवादी
त्यो लोकतन्त्रवादी
त्यो राजावादी
त्यो नारीवादी
त्यो पहिचानवादी
त्यो नास्तिक
त्यो आस्तिक
मान्छेहरु मान्छेको मनलाई हेरेर विभेद गर्छन्
मान्छेहरु मान्छेको शरीर र मनलाई हेरेर विभेद गर्छन्

०००

मन ब्ल्याक होलमा फसेजस्तै भयो
शरीर के हो ? मेडिकल साइन्स अध्ययनमै छ
मन के हो ? दर्शनशास्त्रीहरु कुहिरोमै छन्

कान्टको अहम
फ्रायडको अवचेतन
हरारीको मानव प्रजाति चेत
मान्छेले मान्छेको परिभाषा नजानेको पुस्तौं बित्यो
म किन ब्ल्याकहोलमा फसिरहेको छु ?
मन र शरीरको ब्ल्याकहोल

०००
शरीरले मान्छेलाई पृथ्वीजत्रो मष्तिष्क दियो
मनले शरीरलाई एकबूँद शान्ति दिएन
फ्याट्ट बुद्धलाई सम्झन्छु
शरीर र मनबीच
कुनै भूमध्यरेखा कोरिएको छ कि ?
कुनै स्वेज नहर खनिएको छ कि ?
कुनै सेतु पो बनिएको छ कि ?

अन्तिममा,
आफैं दार्शनिक बनेर
भन्न मन लाग्छ–
शरीर मनको मन्दिर हो ।