घरबाट फोन आउँछ
आजकाल निकै नराम्रो सपना देख्छु
सन्चो बिसन्चो कस्तो छ छोरा ?
यसपालि खडेरी लाग्यो
बालीनाली सप्रेन
म बूढो भैइसके हलो जोत्दा सास बढ्न थालेको छ मेरो
तेरी आमाको पुरानो रोग बल्झेला जस्तो छ
साँझ परेपछि भन्छे नौनारी गलेर आउँछ
साहुले आँखा तरेर हेर्न थालेको छ बाटोमा
तँ हिँडेदेखि
बसाइँ हिडेको घर जस्तो भएको छ घर
चिन्ता नलिनु `बा´
सन्चै छु , आरामै छु
सान्त्वनाको दुई शब्द बोल्नै पर्यो
मान्छे हुँ गल्ती भैहाल्छ
समझदार साहु छ भने सम्झाउँछ
नत्र शीर झुकाएर होस् या नझुकाएर
स्विकार्नु पर्छ गाली
हरेक दिन
घडी हेरेर सुत्नुपर्छ ब्युँझनुपर्छ
खाना खानुपर्छ नुहाउनु पर्छ
अर्कैले तोकिदिएको समय तालिकामा चल्नुपर्छ
बेला बेला बिल्कुल निष्क्रिय हुन्छ मस्तिष्क
त्यही मौकामा
चर्को निराशाले आक्रमण गर्छ
कतै न कतैबाट साहस बटुलेर
आफूलाई सम्हाल्नै पर्यो
सबैभन्दा विश्वासिलो मित्रले
खिल्ली उडाउँछ ठट्टाको शैलीमा प्रतिकार गर्नै पर्यो
अलिकति फुर्सद निकालेर
प्रिय कविका उत्कृष्ट रचनाहरू दोहोर्याएर पढ्नै पर्यो
यतिबेलासम्म मेरो सोच्ने समय
सक्किइसकेको हुन्छ
तैपनि मेरो दिमाग एकोहोरो सोचिरहेको हुन्छ
देश देश देश
के म देश नभएको मानिस हुँ ?
झापा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 










