कुनै समय
फुङलिङ बजारमा
मैले तिमीसँगै धान नाचेको थिएँ
त्यो बेला तिमी सजिएकी थियौ
सर्पको फँणाजस्तो शीरफूलमा
धपक्कै बलेकी थियौ
निधारको शिरबन्दीमा
ढुङ्ग्री, बुलाकी अनि घाँटीको कण्ठमालामा
आकाशको जून खुसक्क तल ओर्लेर
मुस्कुराइरहेको थियो छातीको चन्द्रहारमा
हाँसिरहेको थियो सेतो गुलाब
नाडीका तिखा काँडेचुरामा
यस्तो लाग्थ्यो
गुराँस ढकमक्कै फक्रेको छ तिम्रो मुहारमा
लालुपाते फुलेको छ तिम्रो अधरमा
तिम्रो रूपको जादुले
कञ्चनजङ्घा पग्लिरहेछ
काबेली बग्न बिर्सिरहेछ
तिमीले हल्का–हल्का पयर उचाली
पालाम गाउँदै धान नाचिरहँदा
त्यही लयमा मिसिएर
मैले समातेको तिम्रो हातको कोमल स्पर्शमा
म भने कतै हराइरहेको थिएँ
एउटा स्वप्निल यात्रामा निस्किरहेको थिएँ
ओ प्रिय !
तिमी त धान नाचकी धानबाला हौ
जो खेतमा पहेंलपुर भएर
बतासको झोंक्कासँगै बयली खेलिरहेछ लहलह
चराहरू तिम्रो छेउमा चिर्बिराइरहेछन्
पुतलीहरू झुमिरहेछन्
प्रिय !
तिमी समृद्धि हौ/अन्नपूर्णा हौ
अरूलाई धनधान्यले भरिपूर्ण पारिदिने
पाथीमा चुलिएकी पाथीभरा हौ
जो किसानको खलाबाट उठेर
ढिकुटीदेखि ढिक्कीको सङ्गीत भरिरहेछ
तिमी धानबाला मात्र होइन
धानभित्रकी श्वेत कञ्चन चामल हौ
जीवनकी प्राण हौ
जसलाई कहिले निधारमा सजाइन्छ
कहिले मन्दिरमा चढाइन्छ
कहिले फेदाङ्वा, येवा/येमा र साम्बाको हातबाट
मुन्धुम फलाक्दै
सें, वायु र शिकारी मन्साइन्छ ।
फुङलिङ