हजुर हामीलाई लुटिबक्सियोस्
चोक्टा–चोक्टा लुछेर
भोजन गरिबक्सियोस्
क्षत्–विक्षत्, धुजाधुजा पारेर
इच्छा तृप्ति गरिबक्सियोस्
हजुर हामीलाई लुटिबक्सियोस्
प्रभुसँग श्रेणी छ
हामीसँग छैन
प्रभुसँग शक्ति छ
हामीसँग छैन
निरीह, श्रेणीविहीन हामीहरूसँग
हजुर खेलवाड गरिबक्सियोस्
हजुर हामीलाई लुटिबक्सियोस्
सृष्टि गर्दा दैवले
एकै प्रकृया अपनाए होलान्
तर हामी निम्छरा भयौँ
प्रभु महान् होइबक्स्यो
त्यसैले होला
मान्छे–मान्छेविच भेद्भाव भएको
प्रभुसँग श्रेणी छ
सिँढी पनि त छ
श्रेणीविहीनहरूको केही छैन
कोही छैन
हजुर हामीलाई लुटिबक्सियोस्
हामीसँग केवल
भाले बास्ने बिहान
अर्थात्
सूर्योदयको प्रतीक्षा गर्नुबाहेक
अरु केही छैन
अँध्यारोपछि उज्यालो त हुनैपर्छ नि
होइन र !
दिङ्ला, भोजपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला