
सुतिरहेको थिएँ
मुलुकको चार दिशाबाट
चारवटा आत्मा आएर
म भित्र पसे
मैले हेर्ने आँखा
सेच्ने मस्तिष्क
र बोल्ने मुख
अचेल
धर्मभक्त, गंगालाल
शुक्रराज र दशरथ चन्द हुन थाले छ
तिमीले प्रयोग गरिरहेको
स्पिकरबाट
तिम्रो आवाज हैन
तिम्रो भावना हैन
मेरो आवाज /भावना हुनु पर्थ्यो
यहाँसम्म कि
त्यो स्वर
मेरो स्वर हुनु पर्थ्यो !
पारदर्शी ग्लासमा कैद भएको
फोटोमा मात्रै फुल चढाइन्छ
ढुंगाबाट निर्मित
शालिकलाई माला लगाइन्छ
त्यो विचारलाई
त्यो भावनालाई
कहिल्यै फूलमाला लगाइएन
मञ्चमा चढे उनीहरू
फोटोहरूलाई चढ़ाए
त्यो विचार चढेन
म जहिल्यै पनि टेबुलमा
हिजो पनि टेबुलमा
आज पनि टेबुलमा
जस्ले राखे पनि टेबुलमा
कुर्सीका चार खुट्टाहरू भएँ
बस्ने त अरु नै !
जहिल्यै पनि विरुध्दमा लडेँ
जस्को विरुध्दमा लडेँ
र शहीद भएँ
मेरै शालिकमा अडेस लागेर
मेरै शालिकमा जिउ अडाएर
शहीद बनाउनेको शालिकलाई
रङ, रोगन र मर्मत गरी
अझ क्रुर बनाइयो
र
विचार फेरि एकपटक
यसरी शहीद भयो !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

