
आफ्नो त न अब हात चल्छ
न गोडा चल्छ
चल्छ, फगत चिन्ता चल्छ
उमेर ढल्दै गयो, जीउ गल्दै गयो
अरुको हे-यो
आफ्नो हे-यो
केही राम्रो गरे हुन्थ्यो मेरो छोराले
अझै पनि उसैमाथि आस चल्छ
माथ्लाघरे ठुल्दाइको छोरो
न धेरै पढेको छ
न बाबुको धेरै सम्पत्ति छ
आफैँ मुग्लान पस्यो
होटेलमा काम ग-यो
मनग्गे कमायो
घर बनायो
सम्पत्ति धेरै जोडेको छ
ठुल्दाइलाई साँच्चै अहिले हर्ष छ
तल्लाघरे माइली
सरकारी सुब्बाको जागीर छ
उसको राम्रो बन्दोबस्त छ
भन्सारमा काम गर्छु भन्छे
कहिले यातायात कार्यालयमा छु भन्छे
कहिले मालपोतमा छु भन्छे
दुर्गम चाहार्नु परेन रे उसलाई
माथिका हाकिमलाई रिझाएकी छे
नेतालाई आफ्नो बनाएकी छे
सधैँ सहरको सुखसयल पाएकी छे
शहरमै ठुलो घर बनाएकी छे
छोराछोरी महँगा स्कूलमा पढाएकी छे
आफ्नै कारमा विहार गर्छे
हवाईजहाज चढेर देश विदेश जान्छे
नपुग्दो केही छैन उसलाई
सबै भरिपूर्ण भरेकी छे
दशैँ दशैँमा मात्रै गाउँमा आउँछे
महँगा महँगा उपहार बोकेर आउँछे
दक्षिणा मनग्गे पुग्ने दिन्छे
सबैलाई मख्ख पारेकी छे
रहरलाग्दो गुजारा चलाएकी छे
गाउँमा बस्ने मेरो छोरो
गाउँमै सधैँ बस्छु भन्छ
गाउँमै ऊ मास्टरी गर्छ
गाउँमै ऊ बाख्रा पाल्छ
गाउँलेकै सेवा गर्छु भन्छ
टुप्लुक्क तलबमा चित्त बुझाउँछ
सरकारी स्कुलमा छोराछोरी पढाउँछ
न मनग्गे पुग्ने पैसा कमाउँछ
जसोतसो ऊ गुजारा चलाउँछ
थुक्क मेरो छोरो
यस्तो छोरोले मलाई कसरी पाल्छ ?
बुढेसकालमा उसले मलाई कसरी स्याहार्छ ?
मलाई त उसकै चिन्ता पो लाग्छ
छोरोले जोडेको सम्पत्तिभन्दा
मैले जोडेको घरखेत धेरै छ
पढेँ मैले त्यस्तै कखरासम्म
काम गर्दै पुगेँ म दरवाङसम्म
ऊ त डिग्री पास गरेको छु भन्छ
क्यार्नु, कतै केही नपाए जस्तो गर्छ
हुती केही नभएजस्तो गर्छ
गाउँमै बस्छ
गाउँमै रमाउँछ
थुक्क मेरो छोरो
उसको बुद्धि अब कहिले आउँछ ?
लोग्ने मान्छे भएर के गरोस्
त्यो आइमाईले जति पनि प्रगति गरेन
धेरै पढेको भएर के गरोस्
नपढेकोले जति पनि पैसा कमाएन
थुक्क पाजी मेरो छोरो
बाबुआमालाई कहिल्यै खुसी बनाएन
अब त आशा पनि मरिसक्यो
उसकै उमेर पनि त ढलिसक्यो
न आफू कहिल्यै खाएलाएजस्तो देखिन्छ
न जहानबच्चालाई सुख सुविधा दिन्छ
न मसँग थोरै मगज माग्छ
न ठुल्दाइको छोरोको सल्लाह सुन्छ
न तल्लाघरे माइलीको कुरो पत्याउँछ
आफै जान्ने सुन्ने भएजस्तो गर्छ
बिना कामको खोइ के काम गर्छ
खोइ के के हो, सोचेर बस्छ
हातमा कलम र कापी लिएर बस्छ
एक्लै बस्छ
एक्लै टोलाउँछ
खोइ के के हो, लेखेजस्तो गर्छ
फेरि टक्क अडिन्छ
फेरि घोरिन्छ
यस्तै गर्दै गर्दै दिन कटाउँछ
खोइ कसरी अब उसले गुजारा चलाउँछ ?
हेर न यो मर्ने बेलामा
मलाई त उही छोराको सन्तापले सताउँछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

