जीवनको पूर्वार्द्ध
प्रारम्भ भएका पाइलाहरू
मेरो आगमनमा खुशी भएका मनहरू
त्यही परिवेशमा म र मेरो समाज
अनि त्यही समाजलाई जीवन्त दिने
रमाइलो त्यो खेदोक गाउँ
जहाँबाट आज टाढा भएको छु
त्यो परिवेशबाट वञ्चित भएको छु
सधैँ मेरो स्पन्दनले खोजिरहेछ
स्मृतिका मीठा पलहरूमा
म त्यहीँ खेदोकमा हुन्छु
उकाली-ओह्राली
पल्लोघर-तल्लोघर
साथीसङ्गी नातेदारहरू बीच
हो, त्यही धारो, बाटो, फूल, वृक्ष, घर
त्यहीँ समाजमा हुन्छु
अनि थुप्रै त्यस्तै त्यस्तैहरूमा
त्यही रमाइलो परिवेशमा
मैले धेरै वसन्तहरू बिताएको छु
मैले खेल्ने गरेका
पाँच ढुङ्गे ढुङ्गाहरू, खोपीहरू
अनि आलिङ्गन हुने खेल-मैदान, आँगनीहरू
त्यहीँभित्र अटेका छन्
भावनाभूतिभित्र म आज डुब्दै
तिनीहरूलाई खोजिरहेछु
तोते बोली बोल्न खोज्दै
आफन्तहरूसँग, लाडिन मन लागेको छ
उनीहरूसँग बाल्यावस्थामा झैँ
ठुस्किन र घुर्क्याउन मन लागेको छ
स्नेहको पत्रपत्रमा लुकी
हो, त्यो धारोको पानीमा
मेरो आफ्नोपन छ
ती रुखहरू, बुट्यानहरू, बाँसघारीहरू
बाटा र बाटाका वरिपरि रहेका बोटविरुवाहरू
अनि ठुले, सानी, मेहेलबोटे, गहिरीघरेका घरहरू
पवित्रा, सपना, सानीका करेसाहरू
सबैमा मेरो आफ्नोपन छ
म हुनुमा तिनीहरूको आफ्नोपन
हो, म चढेकोछु प्रत्येक रुखहरूमा
छोएको छु आत्मादेखि नै
लुकेको छु र लुकाएका छन्
प्रत्येक बुट्यानहरूले मलाई
हरेक बाटा र गल्लीहरूमा
मेरो पाइलाका डोबहरू छन्
मेरोपनका स्पर्शहरू बहिरहेका छन्
मलाई कसैले
झुक्याउन सक्दैनन्
लुकाउन सक्दैनन्
मेरो आफ्नोपनको
स्वाभिमान छ
निःस्वार्थपन छ म हुनुमा
तिनीहरू छन् आत्मीय एकाकारमा
त्यसैले म झुक्किनु हुन्न
म लुकिनु हुन्न
स्वार्थ लोलुप्तमा कहिले डुब्नु हुन्न
बहेको मीठो पवनमा
सरितासँगै बगेको चिसो जलमा
अनि ती बाटा-घुम्ति जङ्गलहरू
बसेका छन् मेरै सामीप्यमा
म हुनुपर्छ उनीहरूका निम्ति
मेरा निम्ति तिनीहरू बाँचेका छन्
स्नेह र साथ साँचेका छन्
त्यही रमाइलो परिवेश
अङ्गालेको छ मेरो खेदोक गाउँले
पवित्र र उच्च सोचले
सुमधुर मिलनका लागि
मेरो आगमनलाई
पर्खिरहेको छ खेदोक गाउँले
सुन्दर सपना साकार पार्न
हो, विरक्तिएको खेदोक गाउँको मुहार फेर्न
ठेचो, काठमाडौँ
हालः युएई
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।