एउटा अस्तव्यस्त मन
सुन्निएका शरीर

लाल आँखाहरू
एक पटक पछाडि फर्केर
जीवन हेर्न खोज्छ
तर लाग्छ यहाँ
पूर्वस्मृति गुमिसकेको छ
बाँच्नुभन्दा जबरजस्ती लादिएका जीवनहरू
क्रमश: हातबाट फुत्किदै गएजस्तो भान हुन्छ
यो विषम युग
जटिल परिस्थिति
अनि
कहालीलाग्दो समय
कोमल मन र बोक्रे शरीरलाई
विभिन्न ताण्डव देखाउँदै
एक सिता भात
एक टुक्रा एटम
एक झोक्का कार्बनडाइअक्साइड
एक थोपा तातो पसिना
मान्छेको मूल्य र मान्यतालाई लत्याउँदै
सिङ्गो जीवनको अस्तित्त्वलाई उपहास छाड्दै
जबरजस्ती चढिरहन्छ ममाथि
म एकदमै बलात्कृत हुन्छु यी सबबाट
अनयासै कुबेला आएको मुसलधारे वर्षा जस्तो
केही परिमाणको भीषण वीर्यपातपछि
सन्तुष्टिको चरम बिन्दुमा
आफ्नो भयावह रुपहरू
मस्तिष्कको एउटा कोषमा टाँसिदिएर
ऊ अर्को सिकार पछ्याउँदै जान्छ
म यता
आगतमा पाइताला टेकेर
पटक पटक वीर्यपातको पीडाले
साह्रै कुण्ठिएर
जबर्जस्ती बाँचिरहेछु
अझ भनौँ, बाँच्न खोजिरहेछु।

कर्जन्हा न.पा.-३ बन्दीपुर, सिराहा।