मलाई मेरै सपनाको पंख फिँजाउनु थियो
मलाई मेरै दुनियाँमा घर बसाउनु थियो
मलाई आफैँले कोर्नु थियो मेरो भविष्यको गोरेटो
टाढा टाढा अनन्तसम्म बेपरवाह भर्नु थियो मलाई
मेरा कल्पना र इच्छाका उडानहरू
म मापन गर्न चाहन्थेँ आफ्नो क्षमता निर्भय, जोश, जाँगर र इच्छाशक्तिको तराजुमा
मैले चाहेको थिइनँ साँगुरिन केवल दिवा सपनाभित्र
मैले खोजेको त एउटा विशाल परिधि थियो
जहाँ मैले देखेका सपनाहरूले विपना बन्न
आफ्नो आयतन निस्फिक्री बढाउन सकुन्
आफू को हो, के हो भनी आफैँ बताउन सकुन्
सकुन् हटाउन जंजिरहरू जो लिङ्ग जडित नियमले बनेका छन्
मैले चाहेको थिएँ घटाउन
विभेदले ग्रसित नवउदारवादीहरूले नारी अबला नारी देवी भनी दिने गरेको दयाको एक टुक्रा कथ्य
जसले नारीलाई सदा अबला मात्रै देखिरह्यो
सुन्दर हेर्ने मात्रै चाहना राखिरह्यो
मैले खोजेकी थिएँ हटाउन
शिक्षित र दीक्षित भनिएकाहरूबाटै खोकिने गरेका
अवसरले मात्तिएका सो पिस नारीका प्रचारमुखी काव्यहरू
रुद्र घण्टी नभएका बास्ने पोथी भनी रचिएका
अविश्वास जडित सामाजिक भाष्यहरू
जसले उदांगो पारिदिन्छ सिंगो नारी जातिको व्यक्तित्व
अनि त्यही निहुँमा दुःखी विचार बोकेर लादिन्छ अनुशासनको एउटै एकोहोरो रटान
जुन अनुशासनले नारीलाई घोडाको लगाम लगाउँछ
तर मैले बिर्सी सकेकी रहेछु कि म स्वतन्त्र छैन
मलाई वर्जित छ सपना देख्न
मैले त आफ्ना सपनाहरूलाई कसैका सपनाहरूसँग साटिदिनुपर्छ
अरुकै भाषाहरूलाई आफू बोलेको हो भनी ठानिदिनुपर्छ
मैले मानिदिनुपर्छ स्वस्थानी व्रत कथाका दन्त्य कथाहरूमा भनिएजस्तै:
अटेरी र पुरुषले भनेको न माने लाटी, कुँजी, बहिरी होइन्छ भनी
कि न कि म छोरी हुँ, बुहारी हुँ, कसैकी श्रीमती र कसैकी आमा हुँ
मैले त संस्कारहरूको हत्कडी पहिरिएर
कुल समाज आफन्तीहरूको इज्जत बनिदिनुपर्छ
मैले आफैँले सपना देख्न छाडेर अरुकै नभनिएका इच्छाहरू बुझ्न जानिदिनुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।