महाराज मेरो गर्दन चिलायो कि
रैतिका आँखामा रतन्धो भो
मौसूफले सेतो मर्जी भएको चिजलाई
सारा दुनियाँले त कालो पो भन्दैछ्न् त ?

सतिले सरापेको यो मुलुकमा
समृद्धिको चाहना राख्ने
मुर्खलाई
गएको भूकम्पले किन लगेन होला
सोच्दा सोच्दै म त
महाभारतकालीन
श्राप बल पो सोच्न पुगेँ
जे भन्यो त्यही पुग्ने
अचम्मको
श्राप बल

श्रापकै बलमा
यदुवंशीको वंश नास भएको जस्तो
मेरो जीवन भरिको
तावेदारीको तपोबलको शक्ति दाउमा लगाउँदै
धारे हात लाएर सराप्दा पनि
केही नभएकोमा
महाराजको गद्दी ताक्नेको
तागत बढेको महसुस भयो

यो ताबेदारको श्राप हिजो त
शिवभक्तिनी गान्धारीको भन्दा नि
निकै कडा
ताबेदारीको
धारे हात पूर्ण नहुँदै
पुक्लुक्कै ढल्नेहरू
अहिले त
जति सरापे पनि ढल्दैनन्
महाराज

त्यसैले त भन्दैछु
मेरा काटिने दिन आए कि ?
महाराजको ग्रह कुण्डलीमा
मार्गी दशामा शनिको साढे साती घुस्यो ?
तासको महल ढलेझैँ
मौसूफको साम्राज्य पनि ढल्दैछ
सरकार ।

सैंबु, ललितपुर