छालामा चाइनिज रंग घसेर
चतुरे स्याल
सिंह भयो एकदिन

आफैं राजा बनेपछि
उसले सबैलाई भन्यो-
‘म सिंह हूँ
तिमीहरूको शासक
म नै हूँ भाग्य विधाता
म नै हूँ जीवनदाता
मेरो आदेश नियम सम्झनू
मेरो अध्यादेश कानून सम्झनू
आजदेखि सिंहको शासन शुरु भयो
फ्याउराको साथ नलिनू
ती सामन्ती हुन्
स्यालजस्ता छुद्र प्राणीलाई नजीक आउन नदिनू ।’

उर्दी सुनेर उसको त्यस्तो
भै खाएको सिंह पनि डरायो
जाई लागेको बाघ पनि डरायो
अर्नाले बल्ल जंगलमा राजा आएको सम्झ्यो
बँदेलले शिकारको व्यवस्था बस्ने सम्झ्यो
साना भुसुनादेखि बडा बडा जन्तुहरू
आफ्नै अड्कलबाजीमा भुले
यसरी स्याल राजा भयो

असमयमा भट्टिएको द्यौसी भैली
स्यालको देखावटी सिंह शैली
ठूला ठूला असाधारण योजनाहरू
भाषाविद्ले पनि नबुझ्ने शब्दहरू
पक्का सिंहको भन्दा ठूलो गर्जन
यो सब उसको चातुर्यको गाँठो थियो
बबुरो स्याल
वास्तवमा त त्यो छँदै थिएन
ऊ रत्यौलीको नक्कली नाठो थियो

जन्तुहरूले पत्याएपछि
ऊ तिनीहरूको शासक भयो
मानितो दिएपछि
त्यो अयोध्यामा लंका थिएन
स्याल हो भनेर शंका थिएन
सिंह बनेर ऊ दिन काटिरह्यो
सबैलाई उसले ढाँटिरह्यो

दिनहरू बित्दै गए
ख्याल ख्यालमा स्यालले जंगल हल्लाइरह्यो
बडे बडे बाघ भालु सिंहलाई डल्लाइरह्यो
कति कुखुरा हराए
कति भ्याउसुला कराए
लेखाजोखा राख्न के सक्नु?
सबै समयको खेल जस्तो
काँचो मकैको सेल जस्तो

एकदिन गाउँमा निसाफको बाटो रोजियो
हराएका विचरा कुखुराहरू खोजियो
अनुसन्धान अघि बढ्यो
उत्खनन भए कुखुराका बिहानहरू
खोजी भए गाडिएका चिहानहरू
अपराधी स्यालहरू नै चोरीमा पक्रिइए
न्याय खोज्न कुखुरेहरू अघि टक्रिए
अब भने उभिन गाह्रो पर्यो
स्याललाई ज्यादै साह्रो पर्यो
‘आफन्त भेटेपछि स्यालले आफ्नो सक्कली बोली बोल्नुपर्छ रे
स्याल स्यालका बीच ऐक्यबद्धताको भाव खोल्नुपर्छ रे’
यस्तो प्रकृतिको कानूनलाई के गरी रोक्नु?
आफ्नै सहकर्मीलाई आफैँले कसरी ठोक्नु?
न्यायकर्ता सिंहरुपी स्याल महाराज
जबर्जस्ती चूप लागेर बस्न खोज्यो
जब उसले भेट्यो फटाहा स्यालहरू
चोरीचकारीका आफ्ना अभिन्न दौंतरीहरू
अन्तमा सकेन उसले रोक्न
जोडले हुँइयाँ हुँइयाँ गर्यो
स्याल फेरि सबैले हेर्दाहेर्दै
सिंहबाट स्यालमै झर्यो
स्याल जानेपछि सिंहले
तत्काल दुई थप्पड लायो
कुखुरेको हातबाट पनि
उसले दुई चार मुक्का खायो

एउटा कुखुरा उफ्रेर हाँस्यो
अर्को कुखुरा उठेर बास्यो-
‘अब स्यालहरू छद्मभेषी सिंह बनेर
झुक्याइरहन सक्दैनन्
भन्ने तथ्य समयले बताएको छ
उसको हुँइयाँ हुँइयाँले
सबै जन्तुहरूलाई तताएको छ ।’

कुखुरी काँ !!

चितवन, पारसनगर
हालः लण्डन