उल्झिरहेका तर्कहरूलाई पर सारेर
अहंको महलबाट तल झर्दै
सम्मानको भोक र वैभवको वैशाखी छोडेर
मैले आन्तरिकताको द्वार टालिरहेँ
जतिबेला भौतिकताको मार्गमा म
विक्षिप्त भएकी थिएँ

म को हुँ ?
म को हुँ ? भन्ने प्रश्नले डोर्‍याएपछि
खोज्दै थिएँ दृश्यमान् जगतबाट
अदृश्य लोकको त्यो राजमार्ग
छाम्दै थिएँ अशान्तिको पर्खाल ठड्याएर
शान्तिको सीमाहीन पातालमार्ग

तिमीलाई भेटेपछि
खुलेका उपनयनहरूले
तमाम प्रश्नहरूका उल्झनहरू
सुल्झाइदिएका छन्
जीवनको महाकाव्यबाट
शब्दातीत अमूल्य नादहरू सुनेपछि
आन्तरिकताको गर्तमा डुबुल्की मारेकी हुँ
अँध्यारो र उज्यालोको फरक छुट्याउँदै
आफैँलाई सोपान बनाएपछि
मैले आफैँलाई भेटेकी हुँ

स्वर्गलाई नजिकै राखेर
आफ्नै अर्द्धमुदित नयनबाट
अनन्त सुरुङहरू छिचोल्दै
भीमकाय पहाडहरू बिना पङ्ख उक्लिरहेँ
दिव्य प्रकाशको त्यो अद्भुत लोकमा
म भर्खरै पुगेकी मात्र के थिएँ
हृदयआकाशमा हराउँदै
अनहदनादमा झुम्न थालेपछि
सम्पूर्णतालाई त्याग्दै
म पूर्ण भएकी हुँ
प्राप्तिको चाहना हराएपछि
लोभ, भोक र शोकको सीमा नाघेर
मैले आफैँलाई भेटेकी हुँ ।