आज छोरोले मेरो ढाडमाथि चढेर
घोँडा कुदाएको देख्दा,
सम्झिन्छु, म पनि मेरो बा’लाई
त्यसरी नै घोडा बनाएँ हुँला,
उनको औँला समातेर
अगाडि पछाडि झुम्मिदै गाउँ चहारेँ हुँला,
सायद, मेरा बा’ले
आफूले घुँडा र कुहिनामा कयौँ खेप टालेर
मलाई नयाँ सर्ट पाइन्ट किनिरहे होलान्,
आफूले कैयौँ छाक बासी भातले टारेर
मलाई साजी भात खुवाए होलान्,
मेरो बोझ धान्न उनले
कत्ति साहुहरुसित आफ्नो शीर निहुर्याए होलान्,
मलाई उज्यालो छरिरहन उनले
नाङ्गै पैताला काँडाघारीमा कयौँ अँधेरी छिचोले होलान्,
आज पनि मेरा बा
आफ्नो धमिलो दृष्टिमा
मेरो उज्यालो स्वरुप देख्न चाहन्छन्,
आफ्ना पीरहरु थाँती राखेर
म हाँसेको हेर्न पर्खिरहन्छन्,
आफ्नो गाला जस्तै चाउरी परेका स्मृतिहरुमा
मेरो अबोध बाल्यकाल सम्झेर
दाँत विहीन ओठमा मुस्कान छरी हेर्छन्,
सिर्फ आफ्नो सपना मेरै निम्ति बिसाएथे उनले
थाहा छैन,
आज त्यो सपना जागै छ कि छैन उनमा,
कुनै दिन देखेथेँ एकान्तमा
बिँडीको धुँवासँगै उनको आँखाबाट
दुई मुस्ला आँसु बग्दैथिए,
त्यो समय,
मैले के गर्नुपर्थ्यो थाहा पाइनँ
किनकि त्यो क्षण र अवस्था आउँछ भनेर
उनले कहिल्यै सिकाएनन्,
सोच्दैछु अहिले!
म बाको समयमा पुग्दा,
सायद छोरोले भन्नेछ साथीहरुको हुलमा
“सुड्डोलाई पहाड नजाऊ न भन्यो भने डाइलग ठोक्छ
बसोस् हावा खाएर…”
चुपचाप कतैबाट हेरिरहेको म
आफ्ना केही स्मृतिहरु पोको पारेर
निस्किनेछु उसको महलबाट एक मध्यरात,
बुद्ध ज्ञानको खोजीमा निस्किएझैँ
जीवनको अन्तिम सत्य खोज्न ।
हतुवागढी-२, लुङ्गिन, भोजपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।