कहाँ छ र साँच्चै एकैनासको समय
परिवर्तित छ निरन्तर जिन्दगीको क्षण
कहिले सोचे जस्तो हुन्न मन दुख्छ
कहिले नसोचेको हुन्छ अचम्म लाग्छ
आफैंमा भिन्नता/खिन्नता पाइन्छ

रङ बद्लिएको छ
ढङ्ग बद्लिएको छ
नबद्लिएको हुँदै होइन मेरो
उमङ्ग बद्लिएको छ

पहिले र अहिले

हराएको छ मेरो बालापन
खुसी खोज्न कतै जानु पर्दैनथ्यो
साथी हराए… के-के हराए
ती रमणीय/अविस्मरणीय पल हराए

चेहराको संसार जितेको जस्तो मुस्कान हरायो
कहाँदेखि कहाँसम्म पुगिसकेछ मेरो जिन्दगी पनि
एक थान सपनाहरू कहाँ पुगे पुगे
रहरहररू उम्रने बित्तिकै विलीन भइसके छन्
कति रूपान्तरण भयो यो जिन्दगी

पहिले र अहिले

न चिन्ता थियो न शोक थियो
बाल्यकाल त्यत्तिकै रङ्गमञ्च थियो न रोग थियो
थियो त केवल त्यो पल एउटा जोक थियो

जिम्मेवारीले काँध थिचिएको छ
सफलताको सिमानामा मेरो जिन्दगी मिचिएको छ

न उठ्न सकेको छु
न हार्न नै सकेको छु
न म थाकेको छु
न ढुक्कको साथ बाँचेको छु

उफ् ! कति फरक भयो
मेरो जिन्दगीको परिस्थिति
समयले ठगिरहेछ
यो समयको पनि ठग्ने नै रहेछ रीति

सुनाउनु कसलाई बिलौना गर्नु कोसँग
बिग्रेको जिन्दगी भएको छ मन झसङ्ग
खुसीका छालहरूले मलाई कहाँ भेटाउन सकेँ
तिर्खा लागेको हो मलाई सफलताको
तर मेरो तिर्खा म स्वयंले मेटाउन कहाँ सकेँ

समयको दौरानसँगै
एक मुठ्ठी परानसँगै
आखिर मेरो जिन्दगीको रंगशालामा
यति भिन्नता पाएँ
त्यो बढी मैले अहिले खिन्नता पाएँ
पहिले भन्दा अहिले

यति त फरक थियो
पहिले र अहिले !

जुम्ला