मनको मन्दिरमा, माथको तक्दिरलाई
नतमस्तक बनाई चढाएँ तिम्रो आस्था
बतासको चिसो वेगले उडाई
परका डरलाग्दा पहाडमा बजारेको
चाल पायौ कि पाइनौ आस्था?

समर्पणको फूलबाट घातको शूल
उहिल्यै केलाई-केलाई फाल्दा पनि
तिम्रो विश्वासलाई छेड्दै
काँडाहरूले पनि जिस्काएको
चाल पायौ कि पाइनौ आस्था ?

आँखाको आशलाई, आत्माको प्यासलाई
मेटाउने सबै मुहान सुकिसक्दा
तिमीले चपक्क आँशुका थोपाथोपा पिँउदा पनि
मुख सधैँ पकपकाएको
चाल पायौ कि पाइनौ आस्था ?

तिमीले पक्कै चाल पाएकी छैनौ
चाल पाएकी भए पक्कै
उठाउँथ्यौ त्यो शिर, झुक्थेन
ती कतै “आस्थाको” नाममा
चाल पाएकी भए पक्कै
चुँडाउँथ्यौ ती फूल, चढाउँथेनौ ती कतै
“आस्थाको” नाममा
चाल पाएकी भए पक्कै
पिउँथेनौ ती आँसु, सुक्दैनथे ती कतै
आस्थाको नाममा
त्यसैले हिजो सार्थक नभए पनि सुवर्ण भविष्यको
सपना देख आस्था
हाँस आस्था, ए आस्था
सायद तिम्रो माथ र साथ
उसैले सम्हाल्ला कि ?