चोट र पीडाभित्र पनि जीवन छ
जिएर त हेर
संघर्षभित्र छ सफलता
प्रयास गरेर त हेर
साँझ पश्चातको कालो रातपछि नै छ
सुनौलो बिहानी
पहराको गुप्त चट्टान भित्रबाटै
बहेको छ, कलकल झरनाको
शुद्ध पानी
आकाश गंगाको गडगडाहटबाट सृजना हुन्छ
इन्द्रेणी
धर्तीको गहिराईबाट नै सृजना हुन्छ
सुन्दर सरोवर रानी
आँखाको अस्रुधारा पुछेर त हेर
संसार छ कति सुन्दर
मनको बह भुलाएर त हेर सूर्यास्त पछिको
सूर्योदयको सुनौला लहर
बाँच्नका लागि मुस्कुराऊ
मुस्कुराउनका लागि कर्म गर
जीवनले दिएको रङलाई बुझ्न
अन्तिम पटक पुनः कोसिस गर
शून्यतामा जीवनको रङ छ
हारेर उठ्ने मनलाई सोध
अदृश्य कणमा सृष्टि अडेको छ
अदृश्य जीवन्त रक्त कोशिकालाई सोध
शून्यभावबाट विराट विचारको रचना हुन्छ
पीडाका गहिराईमा नयाँ जीवनको आशा हुन्छ
सानो तरङ्गले विशाल तलाउ हल्लाउन सक्छ
सानो आशाले जीवन्त सपना सजाउन सक्छ
संघर्ष र जीवन, प्राणीका पर्याय
सुख र दुःख हुन् एक आपसका सहायक
सूर्यास्त नभई सूर्योदय हुन्छ कहाँ ?
प्यास पछिको पानी पो अमृत बन्छ त्यहाँ
बिज अंकुराउन धर्ती फाट्नु पर्छ
घना वृक्ष बनिदिन सयौं दिन घाम पानी
असिना हुरी सहनु पर्छ
सुन्दर पुष्पवाटिका निर्माण हुन पनि
चट्टानका रङहरू माटोमा परिणत हुनुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।