रुखको पात झरेर
पुनः पलाए झैँ
तिम्रो मन पनि पलाउँछ कि भनेर
अर्को वसन्त कुरिरहेँ –
यो वसन्त पनि आयो, गयो
तर तिम्रो मन पलाएन
वरिपरि हरिया पालुवाहरू पलाए
बगैँचामा रङ्गीबिरङ्गी फूलका कलिला मुनाहरू
बिस्तारै-बिस्तारै सबैतिर पलाउँन थाले
सदियौँदेखि सुतिरहेको
उजाड पिपलको ठुटोमा पनि
एउटा आँकुरो हरियो भएर पलायो
तर तिम्रो मन पलाएन
बितेका कैयौँ वर्षदेखि
यस्तो लाग्छ –
तिम्रो मन र तिम्रो मनका हाँगाहरू
हिउँदभरि हिउँले चुटेर जिङ्ग्रिङ्ग परेका
काँडै काँडाका घारीहरू हुन्
खै किन हो
तिम्रै समीपमा उभिएको सिउँडीमा
गुलाबी फूल पलायो
तर तिम्रो मन पलाएन
मप्रति तिम्रो मन
पलाओस् या नपलाओस्
तर तिम्रा मनका हाँगाबिँगाहरू
कुनै आँधीहुरीले पनि
निमोठ्न र भाँच्न नसकोस्
तुषारो नलागोस्, डढेलोले नखाओस्
सदा तिम्रो मन
हरेक ऋतुमा हरियो भइरहने
धुपी सल्लो झैँ
हरियाली भएर
मन्द-मन्द सुसाइरहेको सुन्न पाउँ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।