हिउँको घुम्टो फुस्किएर
लजाउँदै लजाउँदै उभिएको छ हिमाल
सुक्दैसुक्दै बगेकोछ नदी

टायर पङ्चर हुँदा
हावा फुस्किए जस्तैगरी फुस्किएका छ्न्
मुलुकबाट तन्नेरीहरू
फलत:
कुटो, कोदालो, उकाली र ओरालीहरू
कुलो, पँधेरो, चौतारी र देउरालीहरू
सबै-सबै मुर्झाएका छन्, लजाएका छन्

यहाँ बाह्रैमास-
गरिरहन्छन् आरोप‑प्रत्यारोप, चलिरहन्छ भनाभैली
कसरी-कसरी रित्तियो, राज्यकोषको थैली

आशाको मुहान सुकिसक्यो
भरोसाको नेती टुटिसक्यो

यत्रतत्र सर्वत्र सबै चिजले गिज्याउँदा छन्
यत्रतत्र सर्वत्र सबै चिज लजाउँदा छन्

कविता लेख्दालेख्दै स्वयं कविता लजाइसक्यो
भुतुक्क भएको छ लाजले कलम
अचम्म !
ऊ अझै लजाएको छैन
नाङ्गो भएर, सर्वाङ्ग देखिएर पनि
लजाउन नसक्नु नै सरकार रहेछ ।