तिम्रा हरेक अँध्याराहरूमा
रविको किरण बन्ने छु
तिम्रा लागि हरेक त्याग अनि तपस्या गर्ने छु
सारा दुनियाँ त्यागी तिम्रै अधरमा
समाहित हुनेछु बाचा भयो

तिमी कस्तुरी म सुगन्ध
तिमी समुद्र म छाल
तिमी खोला म किनार
तिमी हावा म अक्सिजन
तिम्रै आँखाको नानी बन्ने छु बाचा भयो

तिमीलाई नि लाग्दो हो है
रजस्वलाले पीडा दिइरहँदा
कोही मलाई त्यस्तो स्पर्श देओस्
ताकि सबै पीडा बिलाएर जाओस्
तिमीले गर्भ बोकिरहँदा
आफ्नो काँधमा पुरै घर बोकोस्
प्रशव पीडामा छट्पटाई रहँदा
हात समाओस् र भनोस्‑
प्रिय, तिमी जननी हुँदै छौ
जननीझैँ धैर्य गर
तिम्रा हरेक पीडामा पेन किलर बन्ने छु
बाचा भयो

मलाई थाहा छ
सागर भेट्न निस्केको नदी
मुहान भेट्न कहिल्यै आएन
छहारीमा थकाई मेटिरहेको बटुवा
सधैँ सँगै बसिरहन सक्दैन
किनकि उसले गन्तव्य भुल्न सक्दैन
हामी किनारा हौँ, भेटिन सायदै सम्भव छ तर
भेट हुने अशामा तिमीलाई पर्खिरहने छु
बाचा भयो ।

काँडापारि, दार्चुला ।