कुपोषणले थला परेको
औषधिमुलो गर्न नसक्ने
रोगै रोगले च्यापेको
लुरे, सिकुटे मरन्च्यासे
अनि
सानो स्याउले छाप्रो भएको
घामपानी घर भित्रै भएको
कहीँ कतै जाँदै नजाने
कलाकारले सुटिङ गर्न मन पराउने
धेरैलाई रमाइलो लाग्ने
यसै बारे
ए कवि, मलाई एउटा कविता लेखी देऊ न

आमालाई छिट्को सारी
मलाई दौरा सुरुवाल ल्याउन
मुग्लान् हिंडेको जेठोको
अत्तोपत्तो केही छैन
भोलि पर्सि आउला भन्दाभन्दै
धेरै दिन रात बिती सके
न छोरो आउँछ, न खबर आउँछ
मभित्र आँधिबेरी ओर्लिएको छ
मलाई शान्त पारी दिन
ए कवि, मलाई एउटा कविता लेखी देऊ न

ठूलाघरेले लुटेको घडेरी निखन्न
खाडी गएको माइलो उतै हरायो
धेरै वर्ष भयो नफर्किएको
आखिर बाकसभित्र
लास भएर फर्कियो
कस्को के लाग्दो रहेछ र ?
त्यसैले, रोइरहेको यो मन बहलाउन
ए कवि, मलाई एउटा कविता लेखी देऊ न

ए बा ! म तिमीलाई घर बनाइदिन्छु
जग्गा किनी दिन्छु
राम्रो लुगा ल्याइदिन्छु
भन्ने कान्छो छोरो पनि
जंगल पसेको धेरै वर्ष भयो
अहँ, अत्तो पत्तो केही छैन
उसलाई बन्दुकले खान पनि सक्छ
बेपत्ता पारिएको पनि हुन सक्छ
विक्षिप्त अवस्थामा
कतै हात थापी प्लिज प्लिज भनेर
रोई कराई रहेको पनि हुन सक्छ
ग्यास चेम्बरमा मारिएको पनि हुन सक्छ
मलाई उसको सहारा चाहिएको छ
त्यसैले,
ए कवि, सक्छौ भने आवाज उठाई देऊ
नसके मलाई एउटा कविता त लेखी देऊ

म भुईँ मान्छेलाई
चिल्ला सडकले के दिन्छ र ?
ठूला भवनहरूको पनि के काम छ र ?
मेलम्ची र तामाकोशी पो किन चाहियो र ?
मलाई त मेरै सन्तान पो चाहिएको छ
म आवाज नभएको भुईँमान्छेलाई
ए कवि ! मलाई एउटा कविता त लेखी देऊ ।