हो, हामी फोहरमा बस्छौं
तर यति फोहरमा होइन
जसलाई तिमीहरु स्मार्ट सिटी भन्ने गर्छौं
प्रकृतिले नै हामीलाई फोहरमा बसायो
तर तिमीहरू त
हामी भन्दा पनि अझ फोहरमा बस्न थाल्यौ
आज असह्य भएर
सकी नसकी दुलोबाट निस्केका छौं
ढलको पानी पनि बग्न नपाउने गरी
फोहर मात्र जम्मा भएको ठाउ टेकेर
टुटेका, फुटेका स्ल्याबबाट उक्लेर
बिग्रेको त्यो बाटोबाट
जहा हामी मुसाहरु पनि हिँड्न गाह्रो छ
जसलाई तिमीहरू राजमार्ग भन्ने गर्छौ
के यही हो स्मार्ट सिटीको राजमार्ग ?
अनि बाटो छेउमा थुप्रिएको फोहर
के स्मार्ट सिटीको डम्पिङ साइट बाटोमै हुन्छ ?
यस्तो स्मार्ट सिटी भन्दा त
हाम्रो बास स्थान नै सफा छ
हाम्रा लागि त होइन
अब तिमीहरूका लागि
हामी जुलुससहित आइरहेका छौं
सिंहदरबारभित्र त धेरै दरबारहरू रहेछन्
तर सिंहदरबार कतै भेटिएन
सिंहदरबारभित्र धेरै कुर्सीहरू पनि रहेछन्
तर कुर्सीमा कोही पनि देखिएन
अब त थाकी सक्यौं हामी
सिंहरदबार खोज्दा खोज्दै
लालटीन बालेर भए पनि
अझै खोज्दैछौं सिंहदरबार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।