यौटा गरिबको कमिजजस्तो ‘राजमार्ग’मा
ऋतुहरू दोहोरिएर आएझैं
बनिरहने खाल्डाखुल्डी तर्काउँदै
हाँकिरहेछन् गुरुजी वर्षौंदेखि
पार्टपुर्जा धोल्लिएको गाडी

बाबुआमाका कलिला सपनाहरू
गह्रौं झोला बोकेर
हिँडिरहेछन् स्कुलतिर

ठेकेदार स्वर्गे भएपछि कालोपत्रे हुन कुरिरहेको
फुटेको भाग्यजस्तो सडकको यौटा खण्डबाट
बेपरवाह उडेको धुलो पातहरूमा पोतिएर
रुखका अनुहारहरू
कुनै बिहे समारोहमा उपस्थित
श्रृंगारपारखी तरुनीझैं देखिएका छन्

बाटो छेउछाउ टहराहरूमा
जीवनका उपासकहरू बेचिरहेछन्
कुरमुरे, लेयज, गुट्खा, सिगरेट,
सुन्तला, स्याउ, पिँडालु इत्यादि

कतैकतै बाटो मुन्तिर
गुराँसका ओठहरूमा
क्यानभासमा एकतमास डुबिरहेको चित्रकारले झैं
प्रकृतिले
दल्न थालेको छ लाली

उपभोक्ताको तदर्थ इच्छा तुष्टि गरिसकेपछि
‘प्लाष्टिक निशेधित क्षेत्र’ भनि लेखिएको बोर्डमुन्तिर
अनि यत्रतत्र
बजार, खोल्सा, खोलानाला, खेतहरूमा डुलिरहेछन्
गजक्क परेर
बहुराष्ट्रिय कम्पनीका पदचापहरू !

मोटरसाइकलको बिचमा बसेर
यात्रा गरिरहेकी कलिली नानीले झारेको
भर्खर उसका बाआमाले किनिदिएको चप्पलजस्तो
पिसाब गर्न रोकेको गाडीको कुनै यात्रुले
हतारहतारमा टिपेर खसालेको
गुराँसको कलिलो फूल
सडकछेउ भुइँमा रोइरहेछ
कुनै आमाले विवशतामा परेर छाडेको
बेबारिस नवजात शिशुझैं !

घरको लैनो भैंसी बेचेर
विदेशी धुलो दुध खपत गर्ने ‘ट्रेन्ड’मा
मस्त भएको देशमा
एकै साथ देशैभरि तारे होटलहरूमा
भइरहेका होलान्
विकासका उत्ताल छलफल !

र बन्दै होला
आवधिक योजनाको रिले दौडमा
अर्को योजना
‘सोह्रौं आवधिक योजना’ ।