
म आफूले आफैंलाई
दिनमा १५/१६ घण्टा खटाई रहेछु
आफ्नो आयु आफैंले घटाई रहेछु
एक छाकले दिन कटाई रहेछु
भोको पेटलाई औंला चटाई रहेछु
भोलि भोज खाउँला, आफैंलाई रटाई रहेछु
बिचरा म
दाइभाइको सम्बन्धमा अगुल्टो ठोसेर
आफ्नो चुलोमा आगो बाल्नेहरूको भिंडमा
म सुकेको दाउरा र झुलो भै रहेछु
एकएक जोडेर एघार बनाउनेहरूको भिडमा
म एकएक जोडेर दुई बनाई रहेछु
बिचरा म
दाइ भएर आउने
भाइ बनाएर जाने
भाइकै दाइँ गरेर रजाइँ गर्दा रै’छन्
म दाइँदाइँमै रमाई रहेँ
दाइकै खुट्टा समाई रहेँ
बिचरा म
दह्राहरू दरबार बनाएर
घरमा पनि गजुर हाल्दा रै’छन्
म बिचरा घरबार चलाउन पनि
बारबार हजुरहजुर रटिरहेछु
हार खाको छैन खटिरहेछु
आफैँसँग तर थाकिरहेछु
आगो त छैन मभित्र
तर भित्रैदेखि पाकिरहेछु
बिचरा म
चुइने छानो टालिदिन्छौं
रित्तोभाँडोमा मानो हालिदिन्छौं
ओठमा खुसीको लाली दिन्छौं
दुःखको काँडो फालिदिन्छौं
धारामा पानी दिन्छौं
बिजुली बत्ती पनि दिन्छौं
तला उक्लिने भऱ्याङ् बनिदिन्छौं
फाटेको तुना तुनिदिन्छौं
खिरैखिर दिउँला, जागिर दिउँला
पट्याई दिन्छन् म पत्याई दिन्छु
सबैलाई आफैं जस्तो ठानिदिन्छु
सबैथोक म मानिदिन्छु
होला त नि भनिदिन्छु
बिचरा म
बाठाले बाटो देखाउँछु भन्दै ब्वाँसो बन्दा रै’छन्
म मनको खाटो देखाएर घाटो भै रहेछु
खोजेको बाटो तर पाटो भै रहेछु
झुटा मान्छे आउँदा रै’छन्
जिन्दावाद रट्न लाउँदा रै’छन्
र नेता भएर जाँदा रै’छन्
म जिन्दावादको पछि लाग्दालाग्दै
गोरु भएर गोठमा गोगन खाँदै बसिरहेछु
बिचरा म।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

