भन
म कस्तो कविता लेखौँ
तिमीलाई सम्मुखमा राखेर
टोलाउँदै
जूनको कविता लेखौँ
तिम्रो शरीरका प्रत्येक अङ्गको
स्पर्शले हस्तरेखा मेटिएका हात
साक्षी राखेर
घाम गर्भवती भएको कविता लेखौँ
प्रत्येक महिना
तिमी अछुत भएर
छाउ गोठमा कटाएका
रातहरू सम्झँदै
पानी महिनावारी भएको कविता लेखौँ
अथवा
समुद्रको बिस्तारामा पल्टेर
आकाशको ऐना हेर्दै
मैले आँखा झिम्क्याउँदा
तिमी मुसुक्क मुस्कुराएर
आकाशलाई अँगालो हाल्दै
डाँडापारि बोलाएको कविता लेखौँ
भन कस्तो कविता लेखौँ
शिरमा हिमराशीको चुल्ठो बाटेर
छहराले पहरामा सम्भोग गर्दा
बनेका खोपिल्टाको पानी
अञ्जुलीमा लिएर
सिर्जनाको फूल फुलाउने
कविता लेखौँ
भन म कस्तो कविता लेखौँ !