सम्बन्धका नियमहरू
पालना गर्न सकिँदैन भने
तिमी एक्लै बाँच
र एक्लै हिँड
कसैले खोस्ने छैन
तिम्रो स्वतन्त्रता
जसरी खोस्न सकिँदैन
नदीको बग्ने चाहनालाई
तिमीलाई कसैले सोध्ने छैन
कहाँ हिँडेको ?
किन हिँडेको ?
कहिलेसम्मलाई हिँडेको ?
फर्किने कहिले हो ?
सवालहरू मन पर्दैन भने
तिमी एक्लै बाँच
र एक्लै हिँड
तिमीलाई कहिल्यै कसैले
केही सोध्ने छैन
जसरी गैँडालाई
कसैले केही सोध्दैन
सम्बन्धको बन्धनमा बाँधिएर
स्वतन्त्र बाँच्न खोज्नु मुर्खता हो
पिँजडाको चरीले उड्न खोजे जस्तै
कसैसँग सहयात्रा गरिरहँदा
दासी भएँ भन्ने लाग्छ भने
तिमी एक्लै बाँच
र एक्लै हिँड
फेरि
तिमीलाई तिम्रै लोभले न हो
उसको दासी बनाएको
हैन भने
बाटोमा हिँडिरहेकाहरूलाई
यत्तिकै
कसैले श्रीमती बनाउन सक्दैन
प्रेमिका बनाउन सक्दैन
हावा नचली पात हल्लिएको
के तिमीले देखेकी छौ ?
फलामसँग फलाम टाँसिएको
के तिमीले देखेकी छौ ?
कि त तिमी
कसैको सहारा नखोज
र एक्लै बाँच
जसरी आकाशले कसैलाई खोज्दैन
कि त तिमी स्वतन्त्रता नखोज
सम्बन्धको जन्जालमा बेरिएर
स्वतन्त्रताको नारा नलगाऊ
तिमीलाई छहारी पनि चाहिएको छ
अनि रुखहरूको विरुद्धमा
नारा पनि लगाउँछौँ
यो त
कालीदासले टुप्पोमा बसेर
फेद काटे जस्तो भएन र ?
सम्झ त !
माछाहरूले पानीबाट
उन्मुक्तिको आवाज उठाए भने
के हुन्छ ?
सहवासमा मलाई मात्र आनन्द आउने हो ?
शरीर तिम्रो मात्रै लुटिने हो ?
तिम्रो मात्रै इज्जतमा दाग लाग्ने हो ?
आखिर किन
गाली गरिरहन्छौ मलाई ?
पितृसत्ताको नाममा
मेरै वीर्य बोकेर
आमा भएकोमा गर्व गर्ने तिमीले
आखिर कहिलेसम्म
गाली गरिरहने हो मलाई ?
म पुरुष भएकोमा
रथको एउटा पाङ्ग्रा तिमी हौ भने
तिम्रो यात्रालाई सहज बनाउन
अर्को पट्टी म जोडिएको कुरा
किन बिर्सिन्छौ तिमी ?
सिक्काको एउटा पाटो
तिमी हौ भने
अर्को पाटोमा म छु
बजारमा बिक्री हुनका लागि पनि
सिक्काको दुवै पाटो
सकुशल देखिनु जरुरी छ
आधा पाटो सिक्का बोकेर
आखिर के गर्छौ त्यसलाई ?
तिमीलाई म नचाहिएला
तर मै जस्तो कोही त चाहिएला नि ?
पृथ्वीलाई सूर्य चाहिएजस्तै
नारीवादको चर्को स्वरले
आखिर कहिलेसम्म
गाली गरिरहन्छौ मलाई ?
म पुरुष भएकोमा…
(आजलाई यत्ति)
युएई
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।