हात्तीले मेरो घरबार भत्कायो, म जनता कहाँ जाउँ ?
घरको बारी पनि तहसनहस गर्यो, म जनता के गरिखाउँ
जग्गा जमीन भएर पनि, म जनता हुँदैछु बेरोजगार
हात्ती आतंकले घरबार डुब्यो, तिमी कहाँ छौ ए सरकार ?
गाउँपालिका पाल्यौ, वनमन्त्री पाल्यौ, देशको छैन खबर
शान्ति सुरक्षा माग्दामाग्दै, जनताको सुन्दैनौ चित्कार ?
गरेर परिश्रम, भोक तिर्खा मेटाई, जाग्नु छ रातभर,
भन त भन, तिमी नै भन .. तिमी कहाँ छौ ए सरकार ??
जंगल पाल्छौ, हात्ती पनि पाल्छौ, समितिका छन् घरबार
वनको बजेट, कहाँ टाल्छौ, जनतालाई सुनाइदेऊ न एकबार
गस्ती गरे जंगलमा जनताले, सुरक्षाको कहाँ खोज्नु अधिकार
तिमी नै भक्षक हौ कि भन, तिमी कहाँ छौ ए सरकार ?
हरियो वन, नेपालको धन भनी, जनतालाई किन सुनाउँछौ
जनताको घर भत्काई तिमीले, यो देश कसरी बनाउँछौ ?
बुद्धिमा तिम्रो, घाम लागे जंगलमा, बनाउन छेकबार
वन्यजन्तुलाई आरक्षण गर्ने, तिम्रै होइन र जिम्मेवार ?
वनको अधिकार, दिन नसके जनतामा, किन हुकुम चलाउँछौ
हात्तीको आतंकलाई रोकथाम नगरी, कि घरघरमै डुलाउँछौ
तिमीमाथि विश्वास गर्ने जनतालाई, अब के छ र आधार
ज्युँदो छौ कि, मरेका छौ तिमी, तिमी कहाँ छौ ए सरकार ?
कचनकवल – ३, दल्की, झापा
हाल: मलेसिया
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।