के थिए बाका ती सुस्केराहरुमा
जुन सुस्केराले कालो बादल बनेर
बाका आँखाहरु मडारिन्थ्यो
फेरि पनि किन बाका आँखाहरु
ती काला बादलहरुसँग मडारिएर
वर्षिन सक्दैनथ्यो साउने झरी बनेर

बाका मुटुहरुलाई ऐँठन हुँदा
किन बाका मुटुहरुले
ती ऐँठनहरुलाई बाँड्न सक्दैनथे
किन मेरो र बाको मुटु उस्तै भएर पनि
ऐँठन भने बाको मुटुलाई मात्र हुन्थ्यो

माघको त्यो झरीमा के बाको शरीरलाई
चिसो लाग्दैनथ्यो र
यदि बाको शरीरलाई पनि चिसो लाग्थ्यो भने
किन न्यानो ओढ्ने मेरो शरीरमा ल्याएर खापिदिन्थे

साँच्ची बाका खुट्टाहरुमा त्यस्तो के थियो
सधैँ नयाँ लाग्ने गर्थे बालाई
बाका उही पुराना जुत्ता

आजकाल मलाई लाग्छ,
बा हजारौँ हजार किलोमिटर गुडेर खिइएपछि
थन्काइएका गाडीका रबरका पाङ्ग्राहरु हुन्

कहिलेकाहीँ लाग्छ
बा रेडियोबाट एक्लै भुत्भुताइरहेका
त्यही आवाजहरु हुन
जुन आजकाल मलाई सुन्दासुन्दा झर्को लाग्छ

वर्षाको समयमा झरी भरी
साथ दिइञ्जेल ओढेको छाता
जब भाँचियो कसैको हातबाट
त्यही हातबाट छुटेर एक्लिएको छाताझैँ
लाग्छन् आजकाल बा मलाई

जीवनभर जोतिँदा जोतिँदा
अब ती काँधहरुले हलो जुवा नार्न नसकेपछि
त्यही बूढो गोरुझैँ विवश भएर
मालिकको आँखामा टुलुटुल हेरिरहेझैँ लाग्छ
बाका ती धमिला आँखाहरुले आजकाल मलाई

कहिलेकाहीँ लाग्छ
बा कसैको ओठबाट बजेका
मुरलीका ती सुरिलो धुन हुन
तर आजकाल त्यो मुरलीबाट
सुरिलो धुन निस्कन छाडेपछि
त्यही मुरलीझैँ मिल्काइएका छन् बा
र छुटेका छन् आफ्नैका हातहरुबाट

बाका कलेजोहरु आजकाल मलाई
चुरोटका ठुटाहरु निभाउँदा निभाउँदै
जलिसकेका त्यही थोत्रो एस्ट्रेझैँ लाग्छ
अनि रस निचोरेर फालिएका
त्यही कागतीझैँ लाग्छ

जिन्दगीभर बोकेको भारीसँग आफैँलाई रित्याएर
साँच्ची यति निरीह किन बन्छन् बा
जसरी टाँगा तान्न नसकेपछि छाडिन्छ
बेवारिसे बनाई त्यो बूढो घोडालाई
कहिलेकाहीँ लाग्छ, बा त्यही बूढो घोडा हुन
जो आजकाल कसैको काम आउँदैनन्

बा त्यही माझी हुन्
जो सन्तानलाई गन्तव्यमा पुर्याएर
आफू चाहिँ त्यही किनारामा फर्किन्छन् र
फेरि-फेरि त्यही डुङ्गा खियाई नै रहन्छन्
तर डुङ्गा खियाउन नसकेपछि
आजकाल बाका हातहरु मलाई
आफैसँग हार खाएर एक्लो भएको त्यही बूढो माझीझैँ लाग्छ

आजकाल बाका पाइलाहरु मलाई
बिस्तारै-बिस्तारै आफ्नै घरको
मूल बाटोबाट हराउँदै गएको
रहस्यमयी हिममानवका पाइलाझैँ लाग्छ
जहा बाले सधैँ-सधैँ सम्झेर खोजिरहे आफ्ना पाइलाहरुलाई
तर बाका ती पाइलाहरुलाई सम्झेर
फेरि-फेरि फर्केर बालाई सोध्न आउने भने कोही भएनन् ।