ज्ञानका पोस्तकहरू

चकलाभरी सुकाएर

बात मारिरहेका छन् तोरीका फूलहरू

 

पहेंलपूर महानगरीमा

गुन्जायमान छन् वेदका ऋचा

तानसेनले छेडिरहेछन् राग वासन्ति

 

विश्रान्तिकालको पर्वाह छैन

श्रम पर्वमा रमाइरहेका मौरीलाई

जो अहिले अमृतको अमरत्वमा लुटपुटिंदै छन्

 

जीवनबाट जीवन पर्गेल्नु छ

र फैलाउँनु छ, सौरभ

उमेरका प्वाँखहरु चुँड्दै छ, गिंदरीको बोट

 

घामले बनाएको घाउलाई

घाममा नै सेकेर सन्चो बनाउनु छ

अमरत्वको प्रमाण त परागभित्र लुकेको छ

 

निहारिकालाई पट्याएर

बगलीमा घुसारेको तोरीको फूल

अनसुल्झा रहस्यको बरमुडा त्रिकोण हो

 

सौन्दर्यका उज्जर रश्मि

अँजुलीभरी उठाएर

छर्किरहेछ बस्तीका अँध्यारा कुनातिर

 

शान्तिपूर्ण सह-अस्तित्व

कावा खाँदैछ, श्वेताम्बर उडाउँदै अम्बरमा

यहाँका नाथहरू अनाथ हुँदैनन्

 

बहिष्कृत छ अतिभोगको अभीप्सा

सन्तुष्टिका बाजा बजाइरहेछन् किटपतङ

तत्ववोधले निर्लिप्त छ, चराचर

 

व्यवधानपूर्ण छ

शहरिया प्रदूषित कोलाज

बारुदी गन्धले जल्छ, कलेजो

 

अब धेरै नबजाऊ

अभिशप्त आणविक बाजाहरू

परागको निन्द्रा नबिथोली देऊ

 

न कुनै वाद, न भेदभाव

समभावको गीत बजिरहन्छ

अमूर्त सौन्दर्यको मूर्त स्वरूप

 

पसिना जब फुल्छ रंग रंगमा

माटो सुगन्धित गीत गाउँछ

अनि किसान मुस्कुराउँछ, पहेंलपुरमा

 

तोरीका फूलका पीत पत्रदल

ज्ञानका प्रकम्पन विस्तारित गर्छन्

र, पारमार्थिक चेतना प्रवाह गरिरहन्छन् !