हाे यतिबेला हाम्राे देशकाे माटाे
स्वार्थहरुकाे घेराबन्दीमा छ
त्यसैले बारम्बार प्रहार भइरहेकाे छ
राष्ट्रिय स्वाधीनतामाथि
हाम्राे कला र संस्कृतिमाथि
राष्ट्रिय एकता र अखण्डतामाथि
विगतमा बडामहाराधिराजकाे कुशल नेतृत्वमा
विस्तारवाद र साम्राज्यवाद विरुद्ध
एक ढिक्का भएको हाम्राे मन र मस्तिष्क
साँच्चै अहिले कठिन माेडमा छ
किनभने हामी स्वाभिमानी नेपाली
एक आपसमै लडि रहेछौँ
पुर्खाकाे रगतले आर्जिएकाे याे मुलुक
र यसकाे गाैरवपूर्ण स्वाभिमान
खण्डित बनाइँदैछ क्रमश:
यदि देशै रहेन भने
कसरी बाँचिरहन सक्छ नेपाली अस्तित्व ?
याे नेपाली माटाे
केवल माटाे मात्र हाेइन
हाम्राे स्वाभिमानी अस्तित्व पनि त हाे
कला,धर्म र संस्कृति हाम्राे चिनारी पनि त हाे
के यसकाे संरक्षण र सम्बर्द्धन
हाम्राे आफ्नाे दायित्व हाेइन र ?
कुनै दिन हाम्रा पुर्खाहरु
टिष्टा र सतलजसम्म पुगेर
अमरसिंह र बलभद्रका वीरताका गाथाहरु
आफ्नै रगतले काेरेका स्वर्णिम इतिहास
धमिलो बन्दै गरेकाे याे क्षण
दिव्याेपदेश पढ्दै अब जाग्नुकाे विकल्प छैन
हामीलाई बोध छ
जसले एसियामा बढ्दै गरेकाे साम्राज्यवादी आँधीलाई
हिमवत् खण्डमा ढाल बनेर राेक्याे
बाइसे चाैबिसे राज्यलाई एकाकार गर्याे
उसकै बिरुद्धमा फिरिङ्गीहरू
विगतदेखि वर्तमानसम्म
हामीबीच फुट र झुठकाे खेती गरिरहेछन्
अनि लडाइँ रहेछन् हामीलाई
जबसम्म दिव्याेपदेशकाे मूलमन्त्रलाई
राष्ट्रिय एकताको कडी
अनि मुलुककाे सम्बृद्धिकाे आधार बनाइँदैन
तबसम्म हाम्राे स्वाभिमान र स्वतन्त्र अस्तित्वमाथि
प्रहार भइ रहनेछ निरन्तर ।
मुलुककाे एकिकरणकाे अभियानमा
जसरी बडामहाराजाधिराजकाे सारथि बनेर
बिसे नगर्चीले गरे परिकल्पना
वर्तमानले पनि जन्माउनु पर्नेछ
अरु थुप्रै बिसे नगर्चीहरु याे देशभित्रै
अनि गर्नु छ जातीय छुवाछूत र विभेदकाे अन्त्य ।
वास्तवमै याे देशलाई माया गर्ने हामी
देश कठिन माेडबाट गुज्रिएको याे बेला
हामी पनि इतिहासकाे कठघरामा उभिएका छाैँ
किनकि हामीलाई थाहा छ
हाम्राे आफ्नो व्यक्तिगत स्वार्थले
देश कदापि माथि उठ्दैन
हाम्राे याे माटाेमा
विस्तारवाद र साम्राज्यवादले
विस्तारै हाम्राे अस्तित्वको शिकार गर्न
हामी मध्येबाट कथित मानसपुत्रहरु पैदा गरेर
जात र धर्मका नाममा
हामीलाई खण्डित गरिरहेछ
र त हामीले एकअर्काको बिरुद्धमा
अज्ञानतावश हरेक दिन विष वमन गरिरहेका छाैँ ।
त्यसैले एक मुठ्ठी माटाे अञ्जुलीमा समातेर
इमानका साथ छातीमा टाँस्दै
अब त हाम्राे आफ्नाे अन्तरआत्मालाई साेधाैँ
किन विश्वासघात गर्दैछौं याे देशकाे माटाेसँग
हामीले किन र कहिले बाटाे बिरायाैँ ?
दाङ
हाल: काठमाडौं
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।