सिंहदरबार छिर्नु अघिको बिरालो
पस्ने बित्तिकै बलवान् पराक्रमी सिंह हुन्छ
दूर्लभ प्राणी संरक्षित वर्गमा पर्छ
सिंहदरबारमा ऊ अजङ्गको देखिन्छ
पहिला पहिला सिंह धेरै हुन्थे
एकआपसमा काटमार गर्थे ओडार छिन्थे
स्वभावतः सिंह हिंस्रक भक्षक हुन्छन्‌
सजधज आकर्षक, भव्य, विशाल देखिन्छन्‌
परायाको रगत पसिनाको आयमा खेल्छ
आकृति विलक्षण तेजिलो बन्दै जान्छ
इन्द्रेझैँ गर्जन्छ गर्दन ठाडो पार्छ
आँखा रातोपिरो बनाइ तर्साउन खोज्छ
स्वतन्त्रता भन्दै अर्काको हरण गर्छ
सिंह गर्जदा डराउँदो हुन्छ
कहिले शान्त भैकन के गर्नु
ऊ हिंस्रक हो, हिंसा गर्छ
सिंहदरबारमा विहार गर्ने शक्तिशाली सिंह
बालुवाटार पुग्दा कद घट्छ बाघ बन्छ
विशाल काया शक्तिको छायाँमा पर्छ
बाघहरू साम्राज्यवादी हुन्छन्‌
एक्लै बस्ने, खाने, बिहार गर्ने स्वभावी हुन्छन्‌
अन्ततः लोपोन्मुख बृद्ध बाघहरू बालुवाटार पुग्छन्‌
उहिलेदेखि सूचीकृत बाघहरू असिद्धि बन्दैछन्‌
बालुवामा पानी हालेजस्तै अपजय छन्‌
नरभक्षी बाघहरू फलिफाप छैनन्‌
शीतल निवासका चितुवाको कथा उस्तै छ
छोटो कद जीउडाल लामै छ
खप्पर ठूलो लिएर आएकै छन्‌
शरीरका पाटाले चम्केका छन्‌
प्रतिस्पर्धात्मक दौडने क्षमता बेजोड छ
चाहेको सिकार च्याप्प समात्दै रूख चढ्छन्‌
शीतलमा थन्क्याइदा चितुवाहरू
लोसे चिम्से हुँदै परनिर्भर बन्छन्‌
आवासीय चितुवाहरु
सिंहले बक्सेको शिकारमा चित्त बुझाउँछन्‌
कहिलेकाहीँ चितुवाहरू
क्षेत्राधिकारमा आरोपित हुन्छन्‌
शीतल निवासको चिसोमा कठ्याङ्ग्रिदै
होस हवास उडेका चितुवाहरू
मिर्मिरे, गोधुली, रातबिरात पहरको
खयालै नगरी स्यालझैँ कराउँछन्‌
लामो हात लामो दुरी
काटिएको ख्यालै गर्दैनन्‌
विचरा ! सीमाबद्ध चितुवाहरु संरक्षित छन्‌ ।

महालक्ष्मी – ०१, इमाडोल
ललितपुर