गोपाल खनाल

बा, सरल तर
गहन अर्थ वहन गर्ने शब्द
रहनसहन, पर्व संस्कार
लाग्छ बा सब हुन् ।
धर्तिपुत्र मेरा बा
बालखैमा बा गुमाएपछि
लाटी आमा र दिदीहरुकै मायामा
घाम होइन छायाँमा हुर्किए ।

जिम्मेवारी बोध गरी व्यवहार धानेका
मेरा बाको दुःख
ख्याउटो शरीर र पट्पटी
फुटेका पैताला देखेरै महसुस गर्थेँ
आज आफैँ बा भएपछि
अझ बढी बा भोग्दैछु ।

गधा, जिराफ र लाटोकोसेरो भएर
बाँच्नुपर्ने त्यो समय
राणा शासनदेखि गणतन्त्रसम्मको यात्रा
जीवन जात्रा भोगेका मेरा बाले
गह्रौँ भारीका साथ
१२ घण्टा हिँडेर बजार आउजाउ
गर्दै झन्डै दर्जन सन्तानको जिम्मेवारी
कसरी निभाए होलान् ?
रोग, भोक, शोक सहेर
आँखामा समुद्र बोकेर
आगो बाँचेका सोझा, इमान्दार
मेरा बाको कडा रिस मैले देखेको छु
सायद शान्त सोझो मान्छेको रिस कडै हुन्छ क्यारे !

बुढेसकालमा जन्मिएको म
कान्छाले पाल्ला भने पनि
अक्षर चाल्न सहर छिरेको म
अक्षर केलाएर नसक्दै,
बाले हजार साटेर बजारबाट ल्याइदिएजस्तै
कमिज आफ्नै कमाइले लगाइदिन नपाउँदै
सेवा गर्नबाट विमुख बनाएर
बाले आँखा चिम्लिनुभएको ९ वर्ष नाघेछ ।
बा मान्छेले देखेका धेरै सपना पूरा नहुँदा रहेछन् है ?

बाले ऋण
न बोक्नुभयो, न बोकाउनु भयो
सिकाएर सरल जीवनको पाठ
टिकाएर इमान्दारिता
तपाईँले घाँससँगै कति रहर काट्नु भयो
पटकपटक चुँडिएका चप्पल गाँसेजस्तै
गाँसेर आशाका त्यान्द्राहरु
माटासँगै साट्नुभयो पूरै जिन्दगी
दुःखमा ढाट्नुभयो आफैँलाई ।

साथीहरु
बाको समसाथ रमाउँदै
हिँडडुल गरेको देख्दै गर्दा
धुमिल आँखा सेक्दै
सम्झन्छु, बा त साथी पनि हुन्
जाति अनि सबैभन्दा माथि हुन् ।

त्यति बेला
जन्म र मृत्यु नचाहेर हुन्छ भन्ने भुलेर
बाले मलाई ढिला जन्माएछन् भन्ने सोच्छु ।

माफ गर्नुहोस् बा
सन्तान हुनुको अर्थ
जिम्मेवारी पूरा गर्नु थियो
शिक्षाको उज्यालो छर्दै गर्दा
तपाईंले दुःखले आर्जेको
जमिन आज बाँझै छ
तपाईंको सङ्घर्षको कथा ताजै छ अझै स्मृतिमा
अर्काको घर उज्यालो पारेर
आफ्नै घर अन्धकार बनाउँदाको
पीडा म कसरी सहुँला ।

अनि भागेर पो कहाँ जाऊँ म
पूरा गर्नै छ मैले पनि बा हुनुको कर्तव्य ।।

आकाशभन्दा व्यापक बा
आकाश बिनै धर्तिमा बाँच्नुको
पीडा भोग्दै छु म
बा जिन्दगी जिउने आधार हुन्
बा जिन्दगीका सार हुन्
बा गुमाएपछि त झन् बढी बाको महिमा
छर्लङ्ग भएको छ घामजस्तै ।।

नुवाकोट, तारकेश्वर गाउँपालिका–१