मौरी जस्तै पलपल सधैं पुष्प माधुर्य खोजी
काट्तै छाँट्तै हृदय रसिला शब्द सौन्दर्य रोजी
नेपाली यो प्रकृति जगको मूल आदर्श भित्र
खोल्दै ढोका नवप्रणयको प्रेम दिन्छौ पवित्र ।।१।।
डुल्छौ सारा प्रकृति नभमा भाव खोज्दै मिठास
मेट्छौ कालो तिमिर घन त्यो शीघ्र बाँड्दै प्रकाश
छोपी माटो मन र मुटुले देश बोल्छौ सदैव
आफ्नै भाका मृदु लबजले भाव खोल्छौ सदैव ।।२।।
टिप्छौ खिच्छौ विविध रङका दृश्य वैचित्र्य सार
बोल्दा लेख्ता मधुरलयमा बग्छ स्वच्छन्द धार
तिम्रो गङ्गा सरस कविता कुँद्छ वैचित्र्य
हाँसी प्यूछन् काव्यामृत मधुरता शुद्ध सौन्दर्य राशि ।।३।।
तिम्रो भाषा विकट पहरा बोल्छ छाँगा सुसेली
हाँस्छन् बोल्छन् सकल वयसी प्रेमले हल्लिहल्ली
तिम्रै काव्यामृत सलिलता बग्छ जीवन्ततामा
तिम्रै आँखा झलमल सधैं देख्छु सानन्दतामा ।।४।।
छल्केका छन् रसमय छटा चारुचर्चा विचित्र
धर्तीमाता अमित महिमा राष्ट्रनिर्माण भित्र
पोख्यौ आफ्नै कवि हृदयले आँसु राजेश्वरीमा
भर्दै पीडा हृदय भरिको गीत त्यो बाँसुरीमा ।।५।।
मान्छे मार्छन् हृदय नहुने धर्मको ढोङ थामी
भित्री आत्मा सहृदय हुने आँसु झार्छन् नथामी
बाँचू भन्दा पनि किन यहाँ बाँच्न पाएन
मान्छे दम्भी पापी छ अझ अगुवा धर्मढोङी छ मान्छे ।।६।।
त्यस्ता पापी जति जति यहाँ नाच्न थाल्छन् रमाई
कालो टीका त्यति त्यति यहाँ लाग्छ पाखण्ड आई
त्यस्कै पीडा करुण कविता राजराजेश्वरी हो
विद्रोही छन् कविवर यहीँ क्रूर पाखण्डताको ।।७।।
हाँस्ता प्रेमी दिलदिल यहाँ किन्नरी झैं रमाई
डुल्छन् तिम्रा कवि छवि अहो ! चैत वैशाख आई
स्वार्थी पापी दमित मनले बाल सानी कुमारी
खेप्छिन् पीडा जहरमय त्यो इन्द्र रानी कुमारी ।।८।।
फैल्यो टाढा नव यश प्रभा मालती मङ्गलेले
रोए नाचे रसिक हृदयी मञ्चमा चञ्चलेले
सत्यान्वेषी जनलहरका लोकगाथा सुसेल्छन्
छिद्रान्वेषी जनहृदयका लोकभाषा उखेल्छन् ।।९।।
तिम्रै धौलागिरि शिखरमा काव्य सौन्दर्य हाँस्छन्
माछापुच्छ्रे हिमशिखरमा रश्मि लालित्य नाच्छन्
तिम्रै क्वैली रनवन डुली प्रेम वैचित्र्य बाँड्छन्
अश्वत्थामा घरघर डुली युद्ध उन्माद छाड्छन् ।।१०।।
तिम्रो यात्रा अविरल सधैं स्वच्छता मूल भित्र
गङ्गा जस्तै सलल बहने कल्पना छन् सचित्र सिङ्गो
यात्रा सकुशल कला भित्र तिम्रो तपस्या
तोडी सारा अकवि कविता स्वार्थ सङ्कीर्ण ईर्ष्या ।।११।।
जस्को नामै कवि र कविता मात्रले पूर्ण हुन्छ
त्यस्ता बोल्दा अकवि-कविता द्वेषले चूर्ण हुन्छ
आशावादी रसकवि अहो ! छौ रहस्यै रहस्य
तिम्रो सिद्धि ध्वनि-रस-छटा भित्र खोज्दै छु दृश्य ।।१२।।
हाली सुत्छौ हिमशयनमा देश ह्यूँको सिरानी
डुल्दै पुग्छौ हिमशिखरमा खोज्न नौलो बिहानी
यौटा छुट्टै सकल युगको शिल्प स्रष्टा यशस्वी
काव्यात्मा मै नवरस लिने स्वप्न द्रष्टा तपस्वी ।।१३।।
हाँस्छन्-नाच्छन् दिलदिल सबै ज्योतिका पङ्ख हाली
नेपालीका घरघर सधैँ भावभङ्गी उचाली
हेरी हेरी नवकिरणका पूर्व लाली उज्याला
हाँस्तै नाच्छन् दिल गदगदाकार बन्दै सुनौला ।।१४।।
जस्तो खोज्यो अमर सृजना काव्य लेखेर त्यस्तै
बाँच्छन् राम्रा कविवर सदा विश्वब्रह्माण्ड जस्तै
गायत्रीको सकल महिमा भित्र वेदान्त सार
इच्छा बाँकी अनुपम महा-काव्य लेख्ने अपार ।।१५।।
जे छुन्छौ त्यो हृदयरसले काव्य बन्छन्
तिलस्मी जे हेर्यो त्यो झलमल हुने हौ कि ! साहित्य रश्मि
कैले गर्छौ अतिशय ठुला शास्त्र व्याख्या सिनित्त
गर्छौ भाषान्तरण सहजै वेदका मन्त्र सिद्ध ।।१६।।
मन्दाक्रान्ता सुलभ कविमा तुल्य छौ कालिदास
बन्दै माली कवि र कविता भित्र छर्ने सुवास
ठान्छौ मान्छौ जनसकलको काव्य सौन्दर्य मूल
काँडा हाँगा अरु¸ तरु जरा किन्तु साहित्य फूल ।।१७।।
हाँसी हाँसी रसमय भई फुट्छ बोली प्रसङ्ग
तौली तौली हृदयतलमा फुर्छ भाषा उमङ्ग
लेख्ता लेख्तै बकबक कतै छैन उन्माद स्वार्थ
तेरो मेरो भजन महिमा छैन निन्दा किमार्थ ।।१८।।
भाषा तिम्रो सुललित अहो ! स्निग्ध सौन्दर्य
बल्की फुल्छन् भङ्गी नवनव छटा काव्य सौन्दर्य
झल्की झुल्छौ फुल्छौ हृदय हलुका पुष्प गुच्छा समान
बूढो हुन्नौ तनमन सधैं नित्य नौलो जवान ।।१९।।
तिम्रो आस्था भुवनभरमा विश्व बन्धुत्व छाओस्
तिम्रो श्रद्धा सकल जनले शान्ति सङ्गीत गाओस्
कोही व्यर्थै रणरगतले मृत्यु टीका नलाओस्
गान्धी जस्तै बनिकन सबै विश्व सारा जगाओस् ।।२०।।
सानो हाम्रो हिममय यही देशको काव्य-इच्छा
हो त्यो हाम्रै मिथक कविता शान्तिकामी सदिच्छा
पीडा भोग्दा जति छटपटी हुन्छ यो विश्वलाई
देख्ता मात्रै अझ छटपटी हुन्छ नेपाललाई ।।२१।।
त्यागी हिंसा सकल जनले शान्ति सन्देश गाऔँ
भन्छन् हाम्रा कविवर सधैं काव्यमै प्रीत लाऔँ
बन्दा दम्भी अणुमय सबै हुन्छ यो विश्व सारा
अश्वत्थामा हरपल यही भन्छ “रोक्” बाण सारा ।।२२।।
जस्ले हाने पनि बम बडो सान मानी वितण्डा
बाँच्ने छैनन् यस भुवनमा दम्भका कीर्ति झण्डा
तड्पी तड्पी कति दिन तिमी त्रास-सन्त्रास भर्छौ
मान्छे सारा अणुमय भई व्यर्थ सङ्ग्राम गर्छौ ।।२३।।
त्यस्तो कालो पतित मतिमा व्यर्थ रम्दैछ मान्छे
हत्या हिंसा जहरमय भै मृत्यु खोज्दैछ मान्छे
उफ्री उफ्री समर बलले सृष्टि सम्बन्ध तोड्छ
अश्वत्थामा अनि विवश भै युद्ध उन्माद छोड्छ ।।२४।।
अश्वत्थामा मनुजपनले बाँच्न सन्देश बोल्छ
काव्यात्मा मै विपुल ममता साँच्न संवाद खोल्छ
यस्तालाई अमृतमय हो अर्ति तिम्रो ल ! बाँच
श्रद्धा राखी सकल जनता मित्र भै विश्व साँच ।।२५।।
कोही हुन्नन् रणरगतले युद्ध जित्ने विजेता
मान्छे सारा विजित छ सधैं युद्धले नै थिचेका
ऐय्या आत्था ! रणमय छ यो विश्व आक्रान्तिबाट
कस्ले रोक्ला अणुबमहरू मृत्युमा नाच्नबाट ।।२६।।
“आँसू बग्नेजति बगिसके, हर्षले हाँस्न पाओस्
हाँसी हाँसी अब त सुखमै देशले बाँच्न पाओस्”
भन्छौ, चम्कोस् प्रगतिपथमा देश नेपाल ऐले
ऐय्या आत्था दुख छटपटी आँसु बिर्सून् सबैले ।।२७।।
तिम्रा आँखा कवि र कविता सत्य सौन्दर्य देख्छन्
तिम्रा आभा मुटु र ममता विश्व बन्धुत्व लेख्छन्
तिम्रा बोली यस प्रकृतिमा नित्य संवाद गर्छन्
तिम्रा खोजी हरपल यहाँ दिव्य अध्यात्म भर्छन् ।।२८।।
ध्यानी ज्ञानी वदन हँसिलो शान्त देदीप्यमान
हेर्दा हेर्दै हृदय लहरी काव्य सर्से समान
देख्ता तारा गगनतलमा हर्र मुस्कान दिन्छौ
लेख्ता सारा रगत पसिना राष्ट्रको निम्ति दिन्छौ ।।२९।।
सन्यासीले रसमय भई डुब्छ एक्लै त्यसैमा
काव्यात्माले ललित कविता दिन्छ बाँडी सबैमा
छोपी झण्डा हरपल यही देशको शान बोकी
जेजे लेख्यौ सकल महिमा राष्ट्रको शान हो कि ।।३०।।
योगी नै हौ कठिन तपले मृत्युलाई पछार्छौ
शिल्पी नै हौ सकल रचना छन्द भित्रै सँगाल्छौ
संस्था नै हौ सकल कविका एक निष्ठा विशाल
बाबा नै हौ कवि तनयका पूर्ण आस्था हिमाल ।।३१।।
आस्था राखी जति कवि घुमे काव्य सौगन्ध खोजी
भर्द्यौ शिल्पी नवरस छटा शिल्प सौन्दर्य रोजी
राम्रा राम्रा अमर कविका साथ मर्दैन शैली
छेकी राखे पनि सुकविका सान लत्रिन्न वैली ।।३२।।
कुण्ठा पीडा निरस कविता छैन तिम्रो कलामा
निन्दा गाली अपकृति कतै छैन तिम्रो गलामा
राम्रो मात्रै मनुज छवि हो, हैन आक्रोश पीडा
भन्छन् तिम्रा सकल कविता फूल माधुर्य वीणा ।।३३।।
आफ्नै आभा वरिपरि सधैँ शब्द सौन्दर्य भर्छौ
आफ्नै लाग्ने प्रिय विषयमा मात्र सौगन्ध छर्छौ
डुब्दै सारा जति उपनिषद् योग संस्कार भित्र
सोच्छौ खोज्छौ प्रतिपल कला द्वैत-अद्वैत भित्र ।।३४।।
लेख्ता मात्रै सब विषय त्यो काव्य बन्दैन व्यर्थै
मीठो लाग्ने हर चिज नयाँ बोक्न सक्तैन अर्थै
राम्रो देख्ता कतिपय कुरा नेत्र यो नाच्छ आफैँ
आत्मा हाँस्ता झलमल अहो ! देह यो हाँस्छ आफैँ ।।३५।।
तिमी हाँस्ता सारा रसिक कविले भाव रसिला
निचोर्छन् तिम्रै ती सरस कविता बन्न हँसिला
बगैँचा डुल्दैमा भ्रमर कुन बन्ला र सुरभि ?
कला जस्को आत्मा सुललित छ त्यो बन्छ सुकवि ।।३६।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।