हो म
निरन्तर हिँडिरहने यात्री होइन
जसको निश्चित
पाइला होस्
गन्तव्य होस्
र बाटो होस्
नसोध्नु होला झुक्किएर पनि
यात्रा कहाँसम्मको हो
हो,
ममा क्षमता छैन
शब्दमा गन्तव्य बताउन सक्ने
अंकमा यात्रा बताउन सक्ने
वास्तवमा
म एक
पहिचान हुन नसकेको
गन्तव्य हुँ
जसलाई हेर्न चाहनाले
देख्न नसकोस्
चिन्न चाहनेले
बुझ्न नसकोस्
अनि,
छुन चाहनेले
स्पर्श गर्न नसकोस्

हो, वास्तवमै
यात्रीहरुको भिडमा रहेको
एकल गन्तव्यको
धूर्तहरूको भिडमा रहेको
इमान्दारको
अनि
सम्पन्नहरूको भिडमा रहेको
गरिबको
अस्तित्व जोखिममा हुन्छ
त्यही जोखिमबाट
अस्तित्व जोगाउन
निरन्तर प्रयासरत
गन्तव्य हुँ म
जसलाई
आकृतिमा उतार्ने
शब्दमा व्यक्त गर्ने
अनि
परिभाषामा सीमित गर्ने
निरन्तरका प्रयासहरू
आत्मसन्तुष्टिका,
बिम्बहरू बनिरहेका छन् ।