म लाखे हूँ

मान्छेहरूको बीचमा

एउटा अलग पात्र हूँ

 

भलै हेर्नेहरूको नजरमा म

मानव हुन नसकेको दानव

वा, दानव हुन नसकेको मानव

प्रतिरूप हूँ

 

अथवा

हदैसम्मको डरलाग्दो अनुहार

जिङरिङ्ग लामो  कपाल

अनि एक जुग पुरानो फेसनमा

उभिरहेको

एउटा भूत – पात्र वा खल- पात्र हूँ

 

मभित्र अझै पनि

आम मान्छेको मन छ

बिद्रुप मुखौटा लगाएर त

म वास्तवमा

बाहिर उतार्न चाहिरहेछु

निकाल्न खोजिरहेछु

मान्छेहरूभित्र वर्षौंदेखि

पत्र-पत्र जमिरहेको

डर, त्रास र घृणा

 

नाच्दै /उफ्रँदै

हातभरि सजाएका

कुसुमे रुमालहरू हल्लाउँदै

प्रत्येक पाइलामा म सोधिरहन्छु

यो रूपमा  मलाई

साँचो माया गर्ने

कोही छ ?

कि प्रेम केवल

रूपवानहरूको खेल हो?

 

उफ्री उफ्री

मैले भनिरहेको छु

यो समाज र यसको वरपर

यत्रतत्र छन्

म जस्तै नकाबधारीहरू

अझ नियालेर चिनौं

उनीहरूमध्ये कति छन्

मानवको मुकुन्डो भिरेका

दानवहरू

जो यतिखेर शानले

कुनै सम्मानित पदमा

आसीन छन्

 

बस् !

यति सम्झाउनको लागि

यो बिरूप अनुहारमा

म बेला बेलामा

तर्साउन आइरहन्छु ।