चन्द्रमा पाैड्याल

धावा नबोल मेरो सार्वभौमसत्तामा
मसँगै निहित छ यो
तिमी तिम्रैमा रमाऊ
म यसैको जतन गर्छु
सर्वोच्चता दिन्छु
शक्ति र भक्ति दिन्छु

धम्की नदेऊ सीमा भत्काउने
मेरो मौनतालाई कमजोरी ठानेर
तोड्न नखोज सीमाका पर्खाल
हक छैन तिमीलाई भित्र पस्न
रखवारी गरिरहेछु युगौंदेखि
सीमा सुरक्षाको निम्ति
महाशक्ति बनेर
खनिन सक्छु तिमीमाथि

भो शब्दभेद नबर्साऊ
मेरो प्रिय सार्वभौम हकमाथि
रक्तरञ्जित भएर
कुरिरहेछु सिमाना
गर्ल्यामगुर्लुम नढलुन् भन्छु पर्खालहरू
नउखेलिउन् भन्छु विश्वासका सीमास्तम्भहरु

शिकारी बनेर अघि नबढ
चाहे धेरै होस् वा थोरै आयतनमा
तिमीसँग भएको तिम्रै हो
मसँग भएको हडप्न नखोज
जुन सधैं मेरो सार्वभौम हुन्छ
जो सधैं मेरो शीरमा हुन्छ

एउटा भिन्नै शान छ मेरो
जसलाई म भुईँमा झर्न दिन्नँ
तिम्रो दाउपेचलाई कुनै हालतमा टिक्न दिन्नँ
सक्छौ भने खुलमखुला आऊ
रात बिरातमा सीमास्तम्भ
सार्न दिन्नँ

त्यति सहज छैन सीमा भत्काउन
विश्वासले अग्ल्याइएका पर्खालहरू लडाउन
यी मेरा प्रेमका
सीमास्तम्भहरु हुन्
निम्छरो साहसले सक्दैन हल्लाउन

संस्कृति र धर्म एउटै हुँदैमा
समाहित हुन सक्दैन अस्तित्व
विविधतामा एकता छ यसमा
विलयको सपना नदेख
आफैँमा सम्पन्न छ यो
कसैको कुटिल जालमा फस्दैन

जहाँ सीमा मिच्दैछौ तिमी
त्यहाँ मेरो शान फर्फराउनेछ
तिमीले खनेको भुलभुलैयाको
राजमार्ग
मेरा दश नङ्ग्रा र पाखुरीले भत्काउनेछ
मेरो सर्वोपरी हित चाहने
मेरो शानले
मित्रताको कवचमा
मर्यादा भुलेको
तिमी जस्तो निर्लज्ज शुभचिन्तकलाई
स्वाभिमानको सबक सिकाउनेछ ।