डा. वीरेन्द्र केसी

झाले माले गोरु नारी, ज्वाली र हलामा
पसिनाले भिजाएर, बिऊ रोपी गह्रामा
नथाकेर गोडमेल, गर्दै बाली सपार्दै
परिवारको सुखका गीत, गाउँछन् बाबा गलामा

ऋणको बोझ भए पनि, दुःख लुकाई हाँसेर
सन्ततिका लागि आफू, मरेसरी बाँचेर
मर्न दिन्नन् बाबा कहिल्यै, सन्ततिका सपना
परिवारको खुशी किन्छन्, थोपाथोपा साँचेर

हाम्रालागि अभावको, आँधीबीच लड्दछन्
गन्तव्यमा पुर्याउन, निरन्तर भिड्दछन्
बाबा यदि साथै भए दुनियाँमा कसैका
दुश्मन पनि हार मानी सारथि भई हिँड्दछन्

दुष्टबाट देश बचाउन, खुकुरीको धारमा
सन्ततिको भोक मेटाउन, माहुरीको घारमा
हरपल संघर्षमै, लडाइँ उनको अर्को नाम
बाबाजस्तो हुन्न कोही, सिपाही संसारमा

अनुशासन, स्वास्थ्य, शिक्षा, परिवारका गौरव
घरका ईंट्टा खेतका आली, बाबाकै हुन् पौरख
हाम्रो मान अभिमान, मर्यादा र पहिचान
बाबा नै हुन् सिपदीप, घरको सान र सौरभ

दाङ, हालः न्युजिल्यान्ड