देश, बलिदान र परिवर्तन
सुनेर हुर्किरह्यो एक मानव
हो, समयसँगै परिवर्तन हुँदै गए
धेरै कुराहरू, बिल्कुल बद्लिएनन्
अपरिपक्व हुँदाहुँदै परिवर्तनको
चेतना जागेको हो उसमा

परिपक्व भएपछि झनै
देश, बलिदान, परिवर्तन जपिरह्यो
कहिले विचार पोखेर
कहिले स्वाभिमान पोखेर पनि बाँच्न खोजिरह्यो
ऊ सहर छिरेपछि बदलिए कयौँ बिरासत
तर उसको अवस्था अझ जीर्ण बन्दै थियो
देश दुख्दा उसलाई नदुखेको कहाँ हो र !
देश रुँदा उसको मन नरोएको कहाँ हो र !
परन्तु, उसको समस्यामा किन देश देखिँदैन ?
उसका समस्याहरू कहिल्यै अखबारमा लेखिदैन
हजारौँ चोटसँग पनि ऊ नहारेको मान्छे
बिस्तारै आफ्नो जिम्मेवारीसँग हार्नु पर्यौ

देशको मायाले बाँच्न नदिएपछि
आखिर देशलाई माया मार्नै पर्यो
सम्झियो उसले उसकै लागि रित्तिएको
बाको खल्ती
उसलाई छहारी दिँदा च्यात्तिएको
आमाको फरिया
चुहिने छानो, भत्किएको कटेरो, बाँझो बारी
जमिनदारको ऋण, बाको उमेर
यस्तै यस्तै सोचिरह्यो

जिम्मेवारी भन्दा ठूलो देशभक्ति
सोचेन उसले
उसले देश नचिनेको कहाँ हो र
देशले उसलाई चिन्न सकेन
ऊ देशको विकल्प भएर हैन, वैकल्पिक भएर
उसले पनि देशलाई वैकल्पिकमा राखेर
राहदानीलाई विकल्पमा राखेको हो
व्यवस्था बिग्रिएपछि हो उस्को जीवन बिग्रिएको
घरको अवस्था बिग्रिएपछि हो उसको मन बिग्रिएको
मनभरि देशभक्ति बोकेर देशप्रेम देशबाटै बिलाएर गयो
भविष्य बनाउने सपना लिएर वर्तमानमै पलायन भयो
भोलिको आशा जीवितै छाडेर अस्ताएको घाम
के फेरि भोलि उदाउला त ?

सुन्दरहरैँचा नगरपालिका-१२, मोरङ