आजकल
मेरो मस्तिस्क
आगोमा सल्किएको जस्तो लाग्छ
बेस्कन हृदय पोलिरहेको छ
जताततै अँध्यारो फैलिएको देख्छु
हाँगाबाट पहेँलिएर झरेका सुकेका पातहरू टेक्छु
यी बगरका निर्जीव ढुंगाहरू पालैपालो
ब्युँझेजस्तो लाग्छ
खै, के भनौँ ?
कलिला केटाकेटीहरू
रोगी आमाको सुकेको स्तनमा झुन्डिरहेछन्
र कराइरहेछन्, ‘भोक लाग्यो’
यी झुपडीका भित्ताहरूले घामपानी नछेक्न सक्छ
जाडो नरोक्न सक्छ
र यसको धमिरा लागिसकेको छानो
यसपालि बर्खामा नटिक्न सक्छ
धेरै दिन भयो
भान्साकोठाहरूमा भाडाकुँडाहरू बजेका छैनन्
चुलोमा आगो बलेको छैन
मैले उसलाई सोधेको थिएँ
यसपालिको दशैंमा नयाँलुगा के हाल्छौ ?
माछा – मासु के खान्छौ ?
र कसरी मनाउँछौ दशैँ ?
असामयिक चाउरिएको अनुहारमा
नमिठो मुस्कान छरेर
एउटा फाटेको कमिज देखाउँदै भनेको थियो
यसैमाथि एक टुक्रा टालो थप्छु
र दशैँ मनाउँछु
खान त सधैँ खाएकै हो
ढिँडो र गुन्द्रुकको झोल

आजसम्म
म जसका विरुद्धमा बोलेँ
जसका विपक्षमा उभिएँ
यो रोग, यो भोक
यो अभाव, यो गरिबी
र यो निष्पट अन्धकार
अहिले मेरा विरुद्धमा नारा
घन्काइरहेको सुन्छु
मेरो अगाडि मलाई
औँला ठड्याइरहेको देख्छु
यस्तो लाग्छ
मेरो मस्तिष्क
हल्लिन थालिसकेको छ
किन कोही पनि बोल्दैनन् ?
सबै चुपचाप चुपचाप
बिल्कुल चुपचाप
म देखिरहेछु अझै अन्धकार हटिसकेको छैन
घाम झुल्किसकेको छैन
ए ! प्रियजनहरू
सक्छौ भने
मलाई बौलाहा हुनबाट जोगाऊ
बौलाहा हुनबाट जोगाऊ I