जब
गोर्खा ब्युँझियो
छरपस्ट फूलहरु सँगेलिए
मानव मष्तिष्कमा उज्यालोको
रेखा कोरियो
अनगिन्ती सपनाहरु बोकेर
हातेमालोको पोय‍ो बाट्दै
उज्यालो समृद्धिको
यात्रामा निस्कियो गोर्खा
अक्कर छिचोल्दै
नाका,गौँडा,भञ्ज्याङ्को तगारो पन्छाउँद‌ै
एकताको मूल बाटो खोज्न
अविश्रान्त दौड्यो पाखुरीमा बल छउन्जेल
हिम्मतको साथ रहुन्जेल दौड्यो
त्यही गोर्खाको उज्यालोमा
बाइसे चौबिसे राज्यहरु
एकाकार भएर उदाए
आज हामी त्यही आँगनमा
रोधी,बालन ,भजन ,मारुनी,झ्याउरेको
भाका र लय छोप्छौँ
मादल,मुरली, डमरु,झ्यालीमा
रौनकता भेट्छौँ
एउटै मियोमा
कसिलो एकता र दर्बिलो साथ भेट्छौँ
पुर्वजको वीरासतमा दूरदर्शिताको गीत गाउँछौँ
इन्द्रेणी रङ्ग दलेर
टल्काउनु छ आमाको चेहेरा
धमिरो र धुलियाबाट जोगाउनु छ
इतिहासका दस्तावेज
बादलका धब्बाबाट
टाढै राख्नु छ सभ्यताको उज्यालो
अपनत्वको श्वास फुकेर
गलामा माला सजाउनु छ
देउडा, छठ, गौराको आराधनामा
विश्व शान्तिको याचना गर्नु छ
मनहरू सम्बन्धको धागोले जोडेर
बुद्ध बचाउनु छ बुद्धत्व बाँढ्नलाई
सगरमाथा उचाल्नु छ सगर छुनलाई
सपना साकार पार्न फेरि
गोर्खा ब्युँझेको छ ।