तिमी कर्मका पर्याय
सीपका शिल्पकार
कथाको कथाकार
पौरखका पौरखेली
जीवनको प्रायोजक तिमी।
उपन्यास लेखन बिनाको उपन्यासकार तिमी
कथा लेखन बिनाका कथाकार तिमी
तिमी नदेखिने अदृश्य पात्र
नदेखिएको दृश्य तिमी
तिम्रा कथा र गाथा कहिल्यै लेखिएन
अनि देखिएन
तिमीले कर्मसँगै फल लिइरह्यौ ।
बा
आफ्नो निजी इच्छा त्यागेर
एकसरो कपडा, फाटेको चप्पल, भित्री वस्त्र
कहिल्यै पुरानो लागेन
अविचलित यात्री
गन्तव्यप्रिय यात्री मेरा बा।
प्रशंसाको पर्याय
स्याबासीका लायक
स्नेहको कर्मरूपी फल
संस्कार सिकाउने शिक्षक
ऊर्जाको अनुपम स्रोत
यी सबैका पर्याय मेरा बा ।
बासँग गुनासोका चाङ नभाको हैन
गुनासा कर्मले छपक्क छोपेको छ
संघर्ष देखेर
पसिनाको गाथा लेख्नेछु
श्रमको मूल्य बूझ्नेछु
शीर उच्च बनाउनेछु
सक्षमताको शब्द निकाल्नेछु
हेर्दै जाऊ बा
तिम्रा कथा इतिहासको पानामा रग्याउँछु ।
राप्ती गा.पा. १, दाङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।