ओ समय
असहमत छु म तिमीसँग
खुद आफैँसँग पनि असहमत
तिम्रो कठोर दण्ड जानेरै पनि
देखेर यो समयको फेहरिस्त
म सहमत हुन सक्दिनँ

ओ समय
मेरो असहमतिको अवसरमा
यो देशको चिना हेर
जीवनको रङ
घरको आगो
र बेसुरको फैसला हेर

प्रेमिल वासनाले
बुर्जुवा नजरले
धार्मिक गोचरले
नश्लवादी सोचले
मार्क्सवादी चस्माले
रुमानी फोबियाले
खोयावादी आवेगले
जसरी हेर
शोकमा छ देश

ओ समय
हेर मेरा असहमतिहरू
जहाँ
लोपोन्मुख छ प्रेम
उन्मत्त छ अपराध
भावविह्वल छ मन
मैमत्त छ गुनाह
शून्य छ तनवदन
मदमस्त छ कसुर
असभ्य छ रीति
छदमभेषी छ धर्म
कुरुप छ राजनीति
सुपरमार्केटमा छ मानवीयता
चोक चोकमा छ तमासा
जसरी हेर
सङ्कटमा छ जीवन

यहाँ छ
फूल काँडाजस्तो
काँडा जीवनजस्तो
जीवन ख्याकजस्तो
ख्याक घनचक्करजस्तो
जसरी हेरे पनि
निराशा र ‘कू’ को आगोले
भतभती पोल्छ मन
अनि निस्कन्छन्
दु:खका लाभाहरू
क्रोधका लप्काहरू
आवेगका पराकम्पहरू

यो सबै देखेर मभित्र आँधी भरिएको छ
तिम्रो समयको सुशासन
मेरो आपतकाल भएको छ
मेरो असहमति
टुलुटुलु नहेर
बरु गला रेट
रोटी छिन
जे गर
तर
ओ समय
अब हेर्न बन्द गरेर हेर
र सुनाऊ आखिरी फैसला
जहाँ लेखिएको होस्
इतिहास बेचिन दिनु हुन्न
जीवन लुटिन दिनु हुन्न
न प्राप्तिको अभिलाषा
न गुम्ने भय
आफ्नै मृत्यु जितेकाहरू
छाउगोठका कलिला आमाहरू
मातृभूमिलाई शिर चढाउनेहरू
उठ
सहिद हुनेहरू निख्रिसकेका छैनन्
उठ ।