ढल्यो !
म चुपचाप शान्त र अटल बनेर उभिरहेँ
निरीह मूकदर्शक पात्र बनेर
नजिकै रहेको समुद्र मृत्युको तुफान
बनेर आयो
परदेशी आकाशको बादल
आँसु बनेर बरररर…..बर्सिरहे
भगवान् जाने सागरको सेतो लहर
नैनासुतको कात्रो बनेर आयो
विरानो सागरको बगर किनार
देवघाट पवित्र आर्यघाट बने
सम्झेर सम्झनाको तीन तले चिता सझाएर
मनमा चलेको तुफान तुवाँलो
धुवाँ बन्यो
क्षणभरमै दहासंस्कार भए
उनको शाश्वत मृत्युको खबर
कायर सरकारको लागि
समाचार बन्यो
परदेशमा एउटा जिन्दगी ढल्यो ।
*******************
ढल्यो !
बित्यो !
मात्रै उनी मेरो कल्पनाको कथामा
भएको थियो सतगत
अनि दहासंस्कार
यथार्थमा उनको पार्थिव देह
बाटोमा मरेको कुकुरको लाशजस्तै भएर
अन्जान अपरिचित सहरको
बिरानो अस्पतालको मर्चरी मुर्दाघरमा
चिसो बरफको तन्ना बिछ्याएर
कालो अँध्यारो ओढेर
स्वदेश फर्कने दिन पर्खंदै थिए
परदेशमा एउटा जिन्दगी ढल्यो ।
*********************
उनको मृत्युको खबर
नवआधुनिक समाजसेवीका लागि
मागी खाने बहाना भयो
प्रविधि दुरुपयोग गर्दै
बनेका नक्कली युट्युबरका लागि
कन्टेन्टको लागि हेडलाइन बन्यो
उनका बा-आमाको भने
मुटुको आधा भाग
उछिट्टिएर भुँईमा झर्यो
अर्धबेहोसीमा नजिकको आफन्त
सरकारदेखि नवमहाराजको
दरबार-दरबारको दैलो-दैलो पुगे
नुनिलो आँशुको कोशेली चढाउँदै
मर्माहित मनको कुरा
पटकपटक सुनाए
सुनुवाईबिना पटकपटक घर फर्के
परदेशमा एउटा जिन्दगी ढल्यो ।
***************
कलिलो कारण बिनाको
मृत्युको कहालीलाग्दो कहर
आधा बाटोमा टिप्न नमिल्ने गरी झरेको
अधुरो सपना
बा-आमासँग पटकपटक राखेको
अमृत वचन
साथी-संगी सहगोत्रीसँग छिट्टै भेटेर मित्रताको
गीत गाउने चाहना
काँचको सिसझैँ फुट्यो
कहिल्यै भेट नहुने गरी
अब
मिति बिनाको हवाई टिकट छ उनीसँग
उनलाई नै भनेर बनाएको
रातो कफिन बक्स छ
कचाककुचुक भएर बसेको
मैलो न मैलो
पुरानो सुटकेशभरि लुगाफाटो छ
मृत पार्थिव शरीर
जननि जन्म भूमिको माटोमा
विलिन हुन आतुर छ
परदेशमा एउटा जिन्दगी मात्रै होइन
थुप्रै जिन्दगीहरू ढलेका छन्।
पाँचखाल, काभ्रे
हालः लिमासोली, साइप्रस
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।