( खण्ड १ )

 

निदाएको छोराको आत्मालाई चमेरो बनाइदिने
निदाएकी छोरीकी आत्मालाई लाटोकोसेरो बनाइदिने
मेरो घरको रात जस्तो तिलस्मी चिज सबैको घरमा होस्
तिम्रो आत्मालाई जून बनाइदिने
मेरो घरको यो निद्राजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्

मैले खोलेपछि सूर्योदय हुने
नुनको बट्टा जस्तो तिलस्मी चिज सबैको घरमा होस्
तिमीले केलाएपछि घाम लाग्ने
चामलजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घर जस्तो सबैको एउटा तिलस्मी घर होस्

यो झ्याल खोल्दा बिहीबार खुल्ने
त्यो झ्याल खोल्दा आश्विन खुल्ने
अर्को झ्याल खोल्दा लिच्छविकाल खुल्ने
मेरो तिलस्मी घरजस्तो सबैको एउटा तिलस्मी घर होस्

मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरजस्तो सबैको एउटा तिलस्मी घर होस्

मैले आँगन बढारेपछि बादल उड्ने
मेरो कुचोजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मैले लगाएपछि हिमालमा हिउँ पर्ने
मेरो कमिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मैले लगाएपछि रुखले चराहरू पहिरिने
मेरो मोजाजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मैले फुकालेपछि आकाशमा तारा देखिने
मेरो जुत्ताजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्

मेरो घरमा छोरा, छोरी भएर रहने
राजा नरेन्द्रदेवको मनमा विचार भएर रहने
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरमा सम्झना भएर रहने
मानगृहमा राजा मानदेव भएर रहने
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरमा थाल, कचौरा, गिलास भएर रहने
राजा जयस्थिति मल्लको दरबारमा नारायण, शिव, ब्रह्मा भएर रहने
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्

मेरो घरमा मूर्ति भएर रहने
राजा मुकुन्दसेनको देशमा ढुङ्गा भएर रहने
मेरो घरको यो चिज जस्तो तिलस्मी चिज सबैको घरमा होस्

यहाँ तिम्रो हात भएर रहने
उता तामाकोसी नदी भएर बग्ने
यहाँ घाम भएर छतबाट खस्ने
उता झरना भएर पहरोबाट झर्ने
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरजस्तो सबैको एउटा तिलस्मी घर होस्

मङ्गलबारलाई बुधबारसित बाँध्ने
मेरो जुत्ताको तुनाजस्तो तिलस्मी चिज सबैको घरमा होस्
सुगालाई रुखसित जोड्ने
मेरो ढोकाको चुकुलजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घर जस्तो सबैको एउटा तिलस्मी घर होस्

सुन्दा यसलाई
छोरीको देह हुने
हेर्दा यसलाई
छोराको देह हुने
छुँदा यसलाई
तिम्रो देह हुने
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरजस्तो सबैको एउटा तिलस्मी घर होस्

मैले खोलेपछि ऋतुहरू बदलिने
चिनीको बट्टाको बिर्कोजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मैले खोलेपछि डाँडामा बतास चल्ने
मेरो दराजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो तिलस्मी घरजस्तो सबैको एउटा तिलस्मी घर होस्

जसलाई छोएपछि मेरा औँलाहरू उत्पन्न हुन्छन्
चम्चा, गहुँजस्ता तिलस्मी चिज सबैको घरमा होस्
जसलाई हेरेपछि मेरा आँखाहरू उत्पन्न हुन्छन्
पर्दा, टेबलजस्ता तिलस्मी चिज सबैको घरमा होस्
जसलाई सुनेपछि मेरा कानहरू उत्पन्न हुन्छन्
छोराको आवाजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
जसलाई अङ्कमाल गरेपछि मेरा हातहरू उत्पन्न हुन्छन्
छोरीको देहजस्तो तिलस्मी चिज सबैको घरमा होस्
जो भएपछि मात्र मेरा अङ्गहरू उत्पन्न हुन्छन्
मेरो घरको यो चिजजस्तो तिलस्मी चिज सबैको घरमा होस्
मेरो घरजस्तो सबैको एउटा तिलस्मी घर होस् ।