कवि र कविता

सरू बस्नेत
छन्द: पृथ्वी
गण: ज स ज स य लघु गुरु
विश्राम: आठ अक्षरमा

सरु बस्नेत

सरु बस्नेत

हुँदैन कविता कुनै रङ दलेर पानाभरि
रुँदैन भन पेट के विष भरेर खानाभरि
अनेक रसमा भिजी असल भावनाले कवि
सरी सम बनौँ स्वयं अटल चाहनाले रवि।

रचौँ सुकविता सबै कवि फुलौँ छरी वासन
हुँदैन त्यति कै गरी कलममा सधैँ शासन
जितौँ मन सके स्वयं र नसके नखेल्नू कवि
भनूँ म कसरी गनी कति लुके लुकाई छवि।

रची कवि बनेछ को भन कहीँ बिना प्रस्तुति
छ सुन्दर सफा भने दिनहुँ गर्छु आफैँ स्तुति
छ न्याय छ न भावमा प्रथमबार बुझ्नू सब
कवीश हुँ भने अरू छ कि शिवाय झुक्नू अब।

भरी सरस बिम्बले सुकविता बनाएपछि
डुबेर त्यसमा निकै भन न को छ उठ्ने बसी
रचूँ म कविता भनी रचिन सक्छ के मोहित
यहीँ असल वाक्य हो प्रिय कवीश मेरो हित ।

अनेक कविले यहीँ दिनहुँ जन्म पाए कति
बनेर गुमनाम झन् गन तिमी हराए जति
प्रथा विकृति झन् बढ्यो किन कवीश तिम्रो भन
रची सुकविता तिमी मन दिए भयो जीवन।

बारा

हाम्रो तराई

कपिल किशोर घिमिरे

छन्द:शार्दूलविक्रीडित
गण:म स ज स त त गुरु
विश्राम: छ र बार्‍ह अक्षरमा

कपिल किशोर घिमिरे

जाडोमा हुनजान्छ अगतिलो बस्दा तराईतिर
बस्ने मानिस भोग्छ यो कहरको पीडा सधैँ आखिर
गर्मीले पनि फेरि पोल्छ अति नै तातो हुनाले यहाँ
तात्दै जान्छ उजाड भूमि लु चली बस्नै नसक्ने यहाँ।

धेरै कष्ट हुँदोछ तैपनि यता उब्जा हुने राम्ररी
मान्छे बन्छ धनाढ्य भाग्य गतिलो बन्दा सधैँ बेस्सरी
पानीले नडुबेर बच्छ तब हो उब्जा हुने राम्ररी
जूवाझैँ हुनजान्छ छैन गतिलो खेती गरौँ के गरी?

भोग्नैपर्छ यहाँ शान्त मनले जस्तै परेता पनि
बाढी पस्छ लगेर जान्छ कहिले उब्जा भएको पनि
सारा डुब्छ सकिन्छ त्यो सब पुँजी गाह्रो छ खेती पनि
बढ्ने हो ऋण भार छैन सजिलो केही गरेता पनि।

मान्छे नम्र भएर बस्न सजिलो मान्छन् तराईतिर
मिल्नैपर्छ मिलेर मात्र सबको राम्रो सबैको भर
कोही हुन्छ खराब दुष्ट मतिको डाका जसै त्यो हुने
लुट्दै खान्छ सदैव हुन्छ उसको ध्यानै लुटी ल्याउने।४
कैलाली

सिंहदरबार !

बालकृष्ण अज्ञात

छन्द:वसन्ततिलका
गणः त भ ज ज गुरु गुरु
विश्रामः आठ अक्षरमा

बालकृष्ण अज्ञात

चम्चा बनाइ सुनको चिउरा चपाऊ
मेरो जसै रकमको छिनमै कमाऊ
भन्दै घमण्डसँग ऐस गरेछ दास
चाहन्न सिंहदरबार कुनै विकाश ।

शिक्षा त शासन मनुष्य जुधेर मार्छ
पैसा विहीन तन मर्नु न बाँच्नु पार्छ
मुट्ठी भरी नियम कानुन हात बाधीँ
मन्त्रीसँगै डिल मिले सुन बन्छ चाँदी ।

सुन्दैन ग्रामजन भाव कुनै गुनासो
देख्दैन दुःख जनको न कुनै छ चासो
बोल्दैरहन्छ तर भाषण मात्र सस्तै
हिड्दैछ सिंहदरबार अपाङ्ग जस्तै ।

पाश्चात्यवाद रितिले सजिलै रुझे नि
वाईन मासुसित मात सबै बुझे नि
आटो ढिडो रहर गुन्द्रुक सागपात
बुझ्दैन सिंहदरबार महत्व जात ।

संसार आज अब पार्छु भनी पछाडि
पानी र दीपक कला सब बेच्न छाडी
बेच्दैछ दैनिक युवा र अरण्य कुञ्ज
पर्याय सिंहदरबार र स्याल झुण्ड ।

खोडा उदाइकन धार सुधार पारी
छाड्दैन भ्रष्ट जन आज सबै नमारी
यस्तो कुभाव मनले कति पाल्छ, पाल्छ
नेपालभक्त तन आज सँधै उचाल्छ ।

स्याङ्जा