उही घाट, उही साथ
उही गद्दी, उही मात
उही चलन, उही संस्कार
उस्तै परिवेश सम्झाउने कलाकौशल
दाइँ रजाइँ धाक रवाफ उस्तै
संस्कार संस्कृति शाही स्नानको
वाद वादी जो सुकै होऊन्‌
भोका नाङ्गाको नाममा लुट्ने प्रतिस्पर्धा
लोकतन्त्रको अपूर्व पथमा
स्वाभिमान गुमाउँदै
अपूर्ण जनतन्त्रको व्याख्यामा रमेका
लकिरे फकिरे सलबलाउँदै छन्‌
अकुतले आकाशिदै गएकाहरू
जात, धर्म, वर्ग, क्षेत्र, लिङ्गको
राजविद्या सिकाउँदै छन्‌
शाही घाटमा गधालाई धुँदाधुँदै
गाई बनेको दाबी गर्दैछन्‌
बडेमानको भैकन पासा खेल्दैछन्‌
अमर बाजी दाबी गर्दै उल्लु बनाउँदैछन्‌
निर्वाचन महायज्ञमा इमानको रथ चढ्दै
बेइमान गाली गर्दै महान् बन्दैछन्‌
देशी विदेशीको चरण स्पर्शमा
सिंहदरबार स्थायित्व ठान्दैछन्‌
अब ताली गाली होइन ढोल बजाएर
छेपारेलाई खोज्दै म्युजियममा थन्क्याउनु पर्छ
भावी पुस्तालाई देखाउनु पर्छ
अब जनजनले सोध्नु पर्छ-
अभ्युदय किन भएन ?
तरुण पलायन किन भए ?
बाआमा मर्दा हप्तासम्म लाश कसले कुर्ने ?
कृषि व्यवस्था निर्यातमुखी किन भयो ?
कमिशने योजना किन अलपत्र परे ?
परिवारवादी भ्रष्टवाद कुन तन्त्र हो ?
अब माला, खादा, अभिनन्दन बन्द गर्नुपर्छ
उद्‌घाटन, विमोचन हटाउनु पर्छ
कुपात्रको टाउकोमा मुकुट सजाउने प्रथा
सदाका लागि बन्द गर्नुपर्छ
अब प्रतिज्ञाको वर्षामा दृढ हुने होइन
अब नाराको खहरेमा पौडिने होइन
अब सपनाको समुद्रमा पानी जहाज चलाउने होइन
अब आश्वासनको पोको थन्क्याउने होइन
अब परिणाम खोज्नु पर्छ, परिणाम
अब विकल्पको खोजी गर्नुपर्छ
अबको छाप हाम्रा होइन, राम्रामा ठोक्नु पर्छ
कथित नायकको शाही काफिला बदल्नु पर्छ
हर हर गङ्गेको नारा छाड्नु पर्छ
घटिया गणतन्त्रका आचार्य महामण्डलेश्वरहरू
जनतन्त्रका कथित स्वामी कैलाशानन्दहरू
संघीयतालाई पञ्चायती अखाडा बनाउनेहरू
सदाका लागि तिरस्कार बहिष्कार गर्नुपर्छ
महानिर्वाणी भैसके भन्नेलाई
अब घाटको पानी खुवाउनु पर्छ
अब चिलिम तान्दै बम बम गर्दै
पशुपतिमा भोलेको सेवामा लगाउनु पर्छ
अब मुर्दा शान्ति होइन
समृद्धिको ढोका उघार्नु पर्छ ।

महालक्ष्मी-०१
इमाडोल, ललितपुर