समाजले ठिक्क पारेको विषको प्याला पिएर पनि
त्यही समाजको जीवन पर्यन्तको श्रमिक म
जन्मिदा निमोठिएको एक मुठी स्वतन्त्रताको रस
नपाएर पनि अहोरात्र त्याग गर्न सक्ने
म पवित्र अछुत हुँ

हो नि मेरो जीवन चक्रको कोपिलामा
फूल बन्ने क्रममा प्रकृतिले दिएको त्यो रातो रङले
मेरो शरीर रंगिदा, जुन रङ नभई सृष्टि अधुरो हुन्छ
त्यो अवस्थामा मलाई अछुत मान्ने तिम्रो कुदृष्टि होला तर
म सुन्दर अछुत हुँ

आफ्नै वरपरका जीवनको गोरेटोमा
आफन्त बन्न पुगेका एक हुल मानिस भित्रबाट एउटा पात्र करायो
यो अछुत भाको बेला त्यो काम किन गरेको ?
जब आयो त्यो कुदृस्टि दर्साउनेको आफ्नाको पालो
भन्छ अब समय बदलियो, पुरानो समयको याद किन गरेको ?

तिम्रा तुच्छ दृष्टिकोणलाई म रंगिएको अछुत लाग्छ भने
मैले फेरेर छोडेको सास किन तानिरहेको छौ?
किनकि वायुमण्डलमा त एउटै हावा बहिरहेको छ
हो, मेरै हावामा तिम्रो पनि प्राण धानिएको छ र त
म पवित्र अछुत हुँ

कुदृष्टि देख्छ रजस्वला दुषित
एउटा विवश सन्तानकी आमा देख्छे
आफ्नै सन्तानको रङ, जस्मा उस्लाई कुसंस्कारको
रेखा नाघेर बनाउनु छ, आफ्नो नाबालकलाई खाना

के तिम्रा नियमहरूले सबैबाट अछुत कहलिएकी
नारीको कर्म गरिदिन सक्छ ?
के तिमीले आफ्ना सन्तानलाई अछुत नामको विषको प्याला दिई
खानाबाट वञ्चित गर्न सक्छौ ?
हो, त्यही कुसंस्कारको घेरा नस्वीकार्ने म
एक पवित्र अछुत नारी हुँ ।

दोलखा
हाल: कौशलटार, भक्तपुर