सयौं पटक

ओइलिएर

झरे पनि

सदियौँसम्म

पाउ लिने गर्छ

ऊ ।

===

 

वर्तमान

ऊर्जाहरू

जञ्जीरभित्र

कैद छन्

बल्दै गरेका दियाहरू

निभाइएका छन्

पलाउँदै गरेका मुनाहरू

चुँडिएका छन्

र पनि

जुर्मुराएका छन्

रङ्गीन क्रान्तिहरू

आकाश भर्न ।

===

 

बाटो

 

घाइते अवस्थामा

चलमलाउने कला

अनि

क्षितिजको यात्रा !

===

 

आड

 

मेरो

आड र भरोसा

भन्नु नै

म र

म जस्तै

मनहरू…।

===

 

शब्द

 

जीवनका

खाली ठाउँ

भर्ने

शब्दहरू

भेटिएलान्

कुन पानामा ?

===

 

सीमा

 

स्वार्थ पूर्ति गर्न

उसले

सीमा पार गर्यो

अन्तर

उनीहरूले घरको लागि

ज्यान दिए

उसले चाहिँ

आफ्नो लागि

घरकालाई मार्यो ।

===

 

तिमी

 

घना जंगलको

फूल टिप

वा

त्यो लेकमा फुलेको

रातो फूल

निर्भरता

तिम्रो क्षमतामा ।

===

 

घाम

 

ऊ उदाउँदा

भरपूर्ण तेज लिएर

उदाएको थियो

उदाउँदै गयो

देख्दै गयो

आरामका साथ फुर्सदमा

रहेका

अनगिन्ती समय,

त्यसैले

ओसिलो अनुहार लिएर

बादलभित्र लुकिदियो

ऊ ।

===

 

आँखा

 

उसले

मलाई देखेन

छायालाई देख्यो

र सोच्यो

कालो पो रहेछ ।

===

 

बाजेको बाकस

 

एकदिन बाजेले

एउटा लकडी काटेर

बाकस बनाए

त्यसपछि सोचे होलान्

ए, मृत्यु त निश्चित पो रहेछ !

अनि

त्यस बाकसमा

वरिपरि रङले सजाए

त्यसपछि भने होलान्

ए, मृत्यु त सुन्दर पो रहेछ !

फेरि

त्यस बाकसमा

बुट्टेदार फूलहरूको

कलाले सजाए

त्यसपछि गमे होलान्

ए, मृत्यु त कलाजस्तै

शाश्वत पो रहेछ !