चिसोले फुटेको उसको
मरुभूमि पैताला
डाँडा काँडासँगै
सिङ्गौरी खेल्ने मनहरू
स्खलन हुन थालेको छ हिजोआज
मध्यरात निद्राको, सपनाको बेला
एक छाक सपनाको खातिर
लागिपरेको छ ऊ
गाउँ रित्तो छ
भरिपूर्ण छ त
कयौं अपुरो सपना
सपना पनि के भनौं
भुँडीको बाध्यता
बारीको काङ्लोभरि
उम्रेको छ कयौं
कसैले नबुझेको झारहरू
इतिहास त्यो झारको पनि थियो होला
जितेको र हारेको, मरेको र मारेको
थिएन कोही लेखिदिने, पढिदिने
बारीभरि छ तोरी सपना
किराफट्याङ्ग्रा, भमरा, मौरीको जीवन
त्यही बारी शृङ्गार्न लाग्दा
कयौं चोटि बाँधिएको छ उसलाई
सहनै नसक्ने गरी हिउँ, माटा र पानीले
नागबेली नशा
रगत मार्गलाई खोज्छन्
छेक्न अस्तित्व मेटाउने भनी
कयौं शीत सिरेटो र बरफको लहरले
तैपनि ऊ हिम्मत नहारी चलमलाउँछ
बेस्सरी बजार्छ हात अनि खुट्टाहरू
लामो सास तान्दै आफैंलाई सोध्छ
के म जिउँदै छु ?
लाग्छ उसलाई
समयमा नफर्फराएको भए
म नि त बन्ने थिएँ एक मुढो
मानिस एक पेटकै लागि
भूत हिँड्ने बेला
पानी रिसाएको बेला
माटा रिसाएको बेलै
छमछम छुमछुम गर्दै हिँड्नु
परेको छ जुनेली रातमा
मित्र र खुसीबाहेक सबथोक छ ऊसँग
छैनन् एक छाकको लागि गड्यालो भूमि
सम्झिएर चित्त बुझाउन
छैन कुनै याद पनि ऊसँग
समय भन्ने नै थाहै छैन उसलाई
मात्र थाहा छ जन्मिनु बिहान
जिउनु दिन मर्नु रात हो
चर्किएको बारीमा पुगे
खोल्सा अनि खोलाहरू
मेटाउँदै थ्यो प्यास अनि भोकहरू
फ्याँफ्याँ गरेको झार अनि तोरीहरू
आफैँ गलेको शरीर
शिशिर हिलोले बेस्सरी गलायो
कहिल्यै अग्लो लागि नलडेको ऊ
तोरी समाज समानताका लागि
कोदालो समातेर मिलाउँथे अग्लोहोचो
छेकेर रोकेर खोल्सा डिल
डाँडाकाँडा पुर्याउँदा पुर्याउँदै
भोकले चर्किएको भित्ता झरेर
सिसामा घन परेझैँ, कमिलामाथि डोको माटो झैँ
त्यही थिच्यो त्यही बिलायो हर्के
माटोको प्रेमले, भोकको प्रेमले ।
मण्डन देउपुर न.पा–०१,काभ्रे
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला